विराटनगर । १ नम्बर प्रदेश सरकारले गरेको स्रष्टा सम्मान कार्यक्रमको नेपाल मैथिली एसोसिएसन नेपालले विरोध जनाएको छ। भाषाभाषीको साहित्य र कलाको सम्मान गर्न नसकेको भन्दै एसोसिएसनले कालो ब्यानर सहित कार्यक्रम स्थल बाहिर बिरोध गरेको हो । एसोसिएसनका अध्यक्ष प्रबिन नारायण चौधरीले यो सम्मानले मैथिली भाषामाथि दमन र अपमान गरेको बताए । यति धेरै पुरस्कारमा एक जना पनि मैथिली कलाकार नपर्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।
मैथिलीसँग सम्बन्धित संघसंस्थालाई उपेक्षा गरेको मैथिली विकास अभियान अध्ययनका अध्यक्ष पंकज बर्माले बताए । ‘सबै बिधालाई पुरस्कृत गरिँदै छ भने कुनैपनि बिधालाई छोड्नु हुँदैन थियो,’ उनले भने, ‘हाम्रो मैथिली बिधाको श्रष्टालाई उपेक्षा गरिएपछि हामी बिरोध प्रदर्शनमा नै उत्रिनु पर्ने अबस्था आयो ।’
मैथिली भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिने मधेशी जो सुकै नेपालीलाई सम्मान तथा पुरस्कार दिनु पर्ने उनीहरुको माग थियो ।
विरोधमा आएका मैथिली अभियानकर्मीले मुख्यमन्त्री राईको समेत ध्यानार्षण गराएका थिए । मुख्यमन्त्री राईले भने आगामी बर्ष अहिलेको विषयलाई सम्बोधन गर्ने आश्वासन दिएका छन् ।