फिक्कल । इलामको सूर्योदय नगरपालिका–१ गोर्खेका १०४ जना महिलाको पाठेघरको मुखको क्यान्सर,बाझोपन तथा स्तन क्यान्सर परिक्षण गरिएको छ । महिला, बालबालिका तथा समाजकल्याण शाखाले शनिबार एक दिवसीय शिविरको आयोजना गरि उक्त परिक्षण सम्पन्न गरेकोे हो ।
परिक्षणमा सहभागि १०४ महिलालाई नै इन्फेक्सन देखिएकाले कम्तिमा सात दिनको औषधी उपलब्ध गराईएको शाखा प्रमुख तारा शेर्पाले जानकारी दिएकी छन् । शेर्पाका अनुसार जोखिम अवस्था देखिएका ४६ जनाको ट्यामस्माईल टेस्ट गरि काठमाडौँ पठाईएको छ । उक्त परिक्षणको रिजल्ट सात दिन भित्रमा आउने र त्यसले क्यान्सर भए नभएको पत्ता लाग्ने छ ।
यसैगरि गम्भिर समस्या देखिएका २ जनालाई भने उपचारका लागी पठाउने गरि परिक्षण गरिएको छ । उनीहरुको पाठेघरको मुखमा ठुलाठुला घाउ देखिएकाले तत्काल उपचारका लागी जानुपर्ने भएको शेर्पाले बताईन् । स्वास्थ्य शिविरमा आएका मध्ये बाझोपनको समस्या भएका ५ जनाको परिक्षण गरिएको छ । १० जनाले परिवार नियोजनको ५ बर्षे साधन आईयुसिडि ईन्प्लान्ट लगाएका छन् भने समय पुरा भएका ९ जनाले झिकेका छन् ।
करिब १५० जनालाई सेवा दिने लक्ष्य राखेको थियो । उनिहरुलाई बिर्तामोड बाट आएकी महिला रोग विशेषज्ञ डा ममत भिरयाले स्वास्थ्य चेक जाँज,परिक्षण साथै परामर्श र्दिएकी थिइन् । शाखाले स्वास्थ्य परिक्षण तथा औषधि वितरण निशुल्क गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख रण बहादुर राईले नगरपालिकाले महिलालाई प्राथमिकतामा राखेको बताएका छन् । उनले यो शिविर पहिलो नभएको भन्दै यस भन्दा पहिला विभिन्न वडाहरूमा संचालन गर्दा राम्रो नतिजा प्राप्त भएको हुनाले पनि नगरले निरन्तरता दिएको जनाएका छन् ।
स्वास्थ्यसगं जोडिएको यस कार्यक्रमले पृथक अर्थ राख्नेमा उनी विश्वस्त छन् । स्वास्थ्यको निरोधात्मक क्षेत्रहरूको बारेमा जानकारी र सचेतनाको कार्यक्रमहरू गर्दै नगरवासीको उपचार खर्चमा भइरहेको निकै ठूलो आर्थिक भारलाई कटौती गर्ने नगरको उद्देश्य रहेको प्रमुख राईले बताए ।
महिला बालबालिका तथा समाजकल्याण शाखाकी प्रमुख तारा शेर्पाको अध्यक्षता रहेको कार्यक्रममा वडाध्यक्ष राजकुमार शेरेङ, महिला रोग विशेषज्ञ डा ममत भिरया लगायतको आतिथ्यता रहेको थियो । शाखाले यहि महिना श्रीअन्तुमा उक्त शिविर सम्पन्न गरेको थियो ।