इलाम : विश्व वातावरण दिवस २०७९ को अवसरमा इलाम नगरपालिकामा वृक्षारोपण गरिएको छ । इलाम नगरपालिकाको आयोजनामा वडा नं ८ स्थित हरित शान्ति अभियान पार्कमा वृक्षारोपण गरिएको हो । मेयर केदार थापा, उपमेयर विष्णु लिम्बु दाहाल, वडाध्यक्ष, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, बिषयगत कार्यालयका प्रमुख, स्थानीय अभियन्ता लगायतको सहभागिता रहेको थियो ।

आज नै प्रकृति र वातावरण सम्बन्धी फोटो र भिडियो प्रतियोगिता समेत राखिएको छ । नगर क्षेत्र भित्रका सामुदायिक वा बगैचामा विरुवा रोपेका वा संरक्षण गरेको कम्तीमा ३ मिनेटको भिडियो हुनुपर्ने जनाइएको छ । भिडियो सामुदायिक वनको हकमा उपभोक्ता समितिको पदाधिकारी र विद्यालयको हकमा प्रधानाध्यापक वा सुचना अधिकारी समेत देखिने गरिएको हुनुपर्ने जनाइएको छ ।

फोटो र भिडियो gpinepal2013@gmail.com वा ecfnepal2013@gmail.com मा पठाउन सकिने छ । फोटो प्रतियोगिताको प्रथम, द्धितिय र तृतियलाई क्रमश २ हजार ५ सय, १ हजार ५ सय र १ हजार पुरस्कार राखिएको छ । भिडियो विजेतालाई ३ हजार ५ सय, २ हजार ५ सय र १ हजार ५ सय पुरस्कार राखिएको छ ।
