Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

८ बर्षमा पनि बनेन् दुधाङ पुल

८ बर्षमा पनि बनेन् दुधाङ पुल

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ २१ २०७९


८ बर्षमा पनि बनेन् दुधाङ पुल

इलाम : इलाम नगरपालिका र माईजोगमाई गाउँपालिका जोड्न दुधाङमा पक्की पुल निर्माणको ठेक्का लागेको ८ वर्ष बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । २०७१ असार २७ मा ठेक्का सम्झौता भएको पुल २०७४ सालमा नै निर्माण सम्पन्न भइसक्नुपर्नेमा हालसम्म सम्पन्न नहुँदा स्थानीयले सास्ती पाएका छन् । पटक–पटक म्याद थप्दा पनि निर्माण सम्पन्न नहुँदा निराश भएका छन् ।

आर्थिक वर्ष २०७०/०७१ मा नै सडक डिभिजन कार्यालयले ६ करोड १२ लाख ९२ हजारमा ठेक्का लगाएको थियो । यहाँ पुल नबनेका कारण बर्षायाममा गाडि कुद्दैनन् । बर्षातमा सन्दकपुर गाउँपालिका ५ को जमुना, माईजोगमाई ६ को प्याङ र ५ को सोयाङका बासिन्दाले यातायातको साधन प्रयोग गर्न नै पाउँदैनन् ।

हिउँदमा खोलाबाट नै गाडी वारपार गर्ने भए पनि बर्खा सुरु भएसँगै खाद्यान्न ढुवानी र बिरामीलाई अस्पताल लैजान समस्या हुने गरेको छ । इलाम सदरमुकामबाट माइजोगमाई केन्द्रसम्म दैनिक दर्जनौं सवारी चल्छन् । इलाम र नयाँबजार करिब २२ किलो मिटरमा सडकबीचको पुल सम्पन्न नहुँदा खोलाबाटै कठिन र जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय तथा सवारी चालकहरू बताउँछन् ।

डिभिजन सडक कार्यालय इलामका अनुसार सम्झौता अवधिमा काम नसकिएपछि ०७४ पुस २७ सम्मलाई पहिलो पटक म्याद थपिएको हो । यद्यपि सो समयमा पनि पूरा हुन सकेन । इलाम सदरमुकामदेखि माईजोगमाईको केन्द्र नयाँबजारसम्म पुग्ने यो मोटरबाटो कालोपत्रे नभए पनि यसअघि आरआरआर एसडीपी नामक सरकारी परियोजना र उन्नति समावेशी बृद्धि कार्यक्रममार्पmत एक अर्ब रुपैयाँभन्दा बढी खर्च भएर ग्राभेल भइसकेको छ ।

उक्त बाटोमा पर्खाल, नाली, कल्भर्ट जस्ता संरचना पनि बनिसकेका छन् । बीचमा रहेको खोलामा पुल नहुँदा यो बाटोमा बर्षाद्का चार महिनाभन्दा बढी गाडि कुद्दैनन् । यो पुलको एकातर्फ नेकपा एमालेका नेता सुवाचन्द्र नेम्वाङ र अर्कातर्फ पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र जोड्ने सेतु समेत हो । देश हाक्ने नेताको क्षेत्रमा नै निमार्ण थालिएको वर्षौंसम्म पुल नबन्दा स्थानिय दुःखी छन् ।

पुल निर्माण स्थानीय तह मातहतमा नरहे पनि निर्माण, समन्वय र अनुगमनको कार्यमा भने आफूहरू लाग्ने इलाम नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको बताउँछन् । स्थानीयको सहजताका लागि आफूहरूले सम्बन्धित निकायसम्म पुगेर खबरदारी गर्ने इलाम नगरपालिकाका मेयर केदार थापा बताउछन् ।

इलाम सदरमुकामदेखि माइजोगमाइको केन्द्र नयाँबजारसम्म पुग्ने मोटरबाटो ग्राभेल भएको छ ।  बर्खायाममा पनि सवारी सञ्चालन हुने सडकको बीचमा रहेको खोलामा पुल नहुँदा समस्या हुँदै आएको छ । पुल निर्माण भएसँगै इलाम नगरपालिका तथा माइजोगमाई गाउँपालिका हुँदै सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका एवम् भारतका विभिन्न ठाउँका स्थानीयलाई सहज हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार