इलाम । इलाममा बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमापुरा भएको छ । जिल्लाका १० पालिकामा मतदान केन्द्र र मतगणनास्थल निर्माणको काम पुरा भएको हो । जिल्लाका १० वटै पालिकाका केन्द्रमा मतगणनास्थल तयार गरिएको छ । अन्य स्थानीय तहका मतगणनास्थल पनि तारजाली लगाएर भित्रपट्टि गणना गर्ने, बाहिरपट्टिबाट अन्य प्रतिनिधिले हेर्नेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले सबै तहमा गणनास्थल तयार भएको र सिसी क्यामेरासमेत जडान भएका छन् । इलाममा १ सय ५१ मतदान केन्द्र अन्र्तगत २ सय ५८ मतदानस्थलमा २ लाख २४ हजार ४ सय ४८ मतदाताले मतदान गर्नेछन् । जसमा १ लाख ९ हजार १ सय ९२ महिला, १ लाख १५ हजार ५ सय ५४ पुरुष र २ जना तेश्रो लिङ्गी मतदाता रहेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनको तुलनामा यस पटक ३३ हजार ३ सय ४२ मतदाता थपिएका छन् ।

४ नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा ४ सय २५ स्थानका लागि १ हजार ३ सय २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । इलाममा सवैभन्दा बढि पालिका नेतृत्वको लागि चुलाचुली गाउँपालिकामा उम्मेदवार रहेका छन् । चुलाचुली गाउँपालिकाका अध्यक्षमा ८ र उपाध्यक्षमा ५ जना उम्मेदवार रहेका छन् ।



