Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा मतदान र मतगणनाको तयारी अन्तिम चरणमा

इलाममा मतदान र मतगणनाको तयारी अन्तिम चरणमा

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख २९ २०७९


इलाममा मतदान र मतगणनाको तयारी अन्तिम चरणमा

फिक्कल । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाका १० पालिकामा मतदान केन्द्र र मतगणनास्थल निर्माणको काम पुरा भएको हो । जिल्लाका १० वटै पालिकाका केन्द्रमा मतगणनास्थल तयार गरिएको छ । अन्य स्थानीय तहका मतगणनास्थल पनि तारजाली लगाएर भित्रपट्टि गणना गर्ने, बाहिरपट्टिबाट अन्य प्रतिनिधिले हेर्नेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले सबै तहमा गणनास्थल तयार भएको र सिसी क्यामेरासमेत जडान भएको बताए । इलाममा १५१ मतदान केन्द्र अन्र्तगत २५८ मतदानस्थलमा २ लाख २४ हजार ४ सय ४८ मतदाताले मतदान गर्नेछन् । जसमा १ लाख ९ हजार १ सय ९२ महिला, १ लाख १५ हजार ५ सय ५४ पुरुष र २ जना तेश्रो लिङ्गी मतदाता रहेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनको तुलनामा यस पटक ३३ हजार ३ सय ४२ मतदाता थपिएका छन् ।

४ नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा ४ सय २५ स्थानका लागि १ हजार ३ सय २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । इलाममा सवैभन्दा बढि पालिका नेतृत्वको लागि चुलाचुली गाउँपालिकामा उम्मेदवार रहेका छन् । चुलाचुली गाउँपालिकाका अध्यक्षमा ८ र उपाध्यक्षमा ५ जना उम्मेदवार रहेका छन् ।

इलाम सदरमुकाम रहेको इलाम नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा ६÷६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । देउमाई नगरपालिकामा नगर प्रमुख र उपप्रमुखमा ५÷५ जना, माई नगरपालिका नगर प्रमुखमा ५ र उपप्रमुखमा ४ तथा सूर्योदय नगरपालिका नगर प्रमुख र उपप्रमुखमा ५÷५ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी फाकफोकथुम गाउँपालिकामा अध्यक्षमा ४ र उपाध्यक्षमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । माईजोगमाई गाउँपालिकामा अध्यक्षमा ४ र उपाध्यक्षमा २ जनाले उम्मेदवारी दिएका छन् । माङ्सेबुङ गाउँपालिकामा अध्यक्षमा ३ र उपाध्यक्षमा २ जनाको उम्मेदवार रहेका छन् ।

सन्दकपुर गाउँपालिका अध्यक्षमा ५ र उपाध्यक्षमा ३ जना उम्मेदवार रहेका छन् । रोङ गाउँपालिकामा अध्यक्षको लागि ६ जनाको नाम दर्ता भएपनि नेकपा एकिकृत समाजवादीबाट नाम दर्ता गराएका रमेश बोखिम राई निर्वाचनमा सहभागि नहुने भएका छन् । उनले मनोनयन फिर्ता लिने समयमा आफु बिरामी परेको कारण फिर्ता लिन नपाएपनि आफु उम्मेदवार नरहेको बताए ।

उनले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेका छन् । जिल्ला सुरक्षा समितीले इलामका २९ वटा मतदान केन्द्रलाई अति संवेदनशिल, ५९ केन्द्रलाई संवेदनशिल र ६३ लाई सामान्यमा वर्गिकरण गरिएको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिए । इलामको मतदान केन्द्रको सुरक्षालाई तीन घेरामा राखिनेछ ।

पहिलो घेरामा नेपाल प्रहरी, शसस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहनेछन् । इलाममा नेपाल प्रहरीका ८ सय ५० र १ हजार १ सय ९८ म्यादी प्रहरी रहेका छन् । गस्ती र परेडमा १ हजार ३ सय ७ जना रहेका छन् । हरेक पालिकामा २ वटा मोवाइल टोली समेत परिचालन भएका छन् । जिल्लाको ३ वटा पालिकामा डिएसपी र ७ पालिकामा प्रहरी निरिक्षकको कमाण्डमा सुरक्षा संयन्त्र राखिएको छ ।

इलामको निर्वाचनमा ७ राजनितिक दल र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन् । इलाममा २१ बर्षका देखि ७७ बर्षका जेष्ठ नागरिकसम्म चुनावी मैदानमा होमिएका छन् । इलाममा ६ जना निर्विरोध निर्वाचित भएका छन् । स्थानीय निर्वाचनमा भाग लिने नयाँ ३३ हजार ३ सय ४२ मतदाताको परिचय पत्र बैशाख २८ र २९ गते वितरण भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार