नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाको नयाँबजारमा ७ दिने सहकारी लेखापालन व्यबस्थापन तालिमको आज समापन भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भागवत रेग्मीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष जितबहादुर राईको प्रमुख आतिथ्यता तथा तालिम सहजकर्ता देवेन्द्र राईको विशेष आतिथ्यता रहेको थियो ।
करिब ३० जनाले तालिममा सहभागी जनाएका थिए । कार्यक्रममा बोल्दै प्रशिक्षक राईले सहकारीहरुको उल्लेख्य उपस्थिति नभएपनी सिकाई प्रक्रिया सोचेअनुरुप भएको बताए । उनले गाउँपालिकाबाट अन्यत्र बाहिरिने पैसालाई गाउँमा नै सहकारीको माध्यमबाट लगानी गर्न आग्रह समेत गरे ।
सहभागी प्रशिक्षार्थीहरुबाट बोल्दै डिल्ली चापागाईले सोचेजस्तै तर छोटो समय भएको बताए । ७ दिने सहकारी लेखापालन व्यबस्थापन तालिमको सहजीकरण देवेन्द्र राई र माईजोगमाई गाउपालिका लेखा अधिकृत रेस्मा राईले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राईले ७ दिने तालिमले क्षमता बिकासमा वृद्धि तथा संस्थालाई पारदर्शी चुस्त दुरुस्त बनाउन सहयोग पुग्ने बताए ।
सहकारीको क्षेत्रमा धेरै गलत कुराहरु भएको बेला गाउँपालिकाले निगरानी समेत गरेको बताए । सहकारीको क्षेत्रमा सबै लाग्न समेत राईले सबैमाझ आग्रह गरेका छन । स्थानीय सरकार आएपछि स्वास्थ शिक्षा बाटो विद्युत लगायतका क्षेत्रमा काम भइरहेको समेत राईले बताए । नयाँबजारमा १५ शैयाको अत्याधुनिक हस्पिटल समेत निर्माणको काम समेत सुरु भइसकेको उनले बताए ।
सम्पूर्ण वडामा जाने बाटोको स्तरोन्नतिको काम सकिएको र फिक्कल गुप्ति नयाँबजारको बाटोको काम समेत धमाधम भइरहेको अध्यक्ष राईले बताए ।कार्यक्रमको संयोजक माईजोगमाई गाउँपालिका सहकारी प्रमुख अशोक लिम्बुले गरेका थिए । सहभागीहरुलाई कार्यक्रमका अध्यक्षले प्रमाणपत्र वितरण गरेका थिए ।