रोमानिया । युक्रेनमा उत्पन्न पछिल्लो संकटबाट हाल सम्म ५ सय ८४ जना नेपालीहरु सुरक्षित गन्तव्यमा पुगेका छन। पछिल्लो तथ्यांक अनुसार हाल सम्म पोल्याण्डमा ४ सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना र ४ माल्दावा पुगेका हुन् । रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले सो जानकारी दिएका हुन् । उनले हाल सम्म युक्रेनबाट नेपालहरु सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाए।
खड्काले अन्य देशको तुलनामा उद्धार कार्य चाडैं भएकाले नेपालीहरुको ज्यान सुरक्षित रहेको बताए । उनले उद्धारको कार्य सम्पन्न भए पछि उनीहरुको पुर्नस्थापना गर्ने कार्य चुनौती पूर्ण रहेको समेत बताए । राजदुत खड्काका अनुसार ३ जना नेपालीहरुलाई भारतीय उडान मार्फत उद्धार गरिएको छ। उनीहरु भारतको नयाँ दिल्ली हुदै नेपाल जाने तयारीमा छन् । युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरु आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेछन् ।
युक्रेनबाट निस्केका मध्ये ४०जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ। करिब ३८ जनाको परिवार आफ्नो व्यवसाय सहित स्थायी बसोबास गर्दै आएकाले पारिवारिक, कानुनी र व्यवहारिक कारणले युक्रेनमा रहेका छन् ।
बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा बद्री केसीले युुक्रेनको युद्धमा परेका नेपालीको उद्धारको लागि नेपाली समुदायले ठूलो सहयोग गरेका कारणले नेपालीहरुको समयमै उद्धार गरेर ज्यान बचाउन सफल भएको बताए । गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष लोक प्रसाद दाहालले युद्ध पिडित नेपालीहरुको पुर्नस्थापनको लागि आर्थिक संकलन गर्न आग्रह गरे ।
बैठकले दाहालको संयोजकमा युद्ध पिडितको लागि आर्थिक सहयोग संकलन समिति गठन गरेको समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । एनआरएनए पोल्याण्डका अध्यक्ष जीवन केसीले नेपालीहरुको सहयोगमा युद्ध पिडितहरुको उद्धार र व्यवस्थापन सफल भएको बताए । उनले २ सय ३ जना नेपालीहरुलाई संघको पहलमा बसोबासको व्यवस्था गरेको जानकारी दिए ।
एनआरएनए हंगेरीमा संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठले ४ जना नेपाल फर्किएको र ती मध्ये २ जना भारतीय सरकारको सहयोगमा हवाई जहाज मार्फत नेपाल गएको जानकारी दिए । एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रसाद शिवाकोटीले अचानक रुपमा आएको युद्धमा परेका नेपालीहरुलाई उद्धारमा दुतावास र नेपाली समुदाय मिलेर गरेको उद्धार एक उत्कृष्ट कार्य भएको बताए ।
बैठकमा स्वास्थ्य समितिका संयोजक डा बोध सुवेदीले युक्रेन तर्फबाट अन्य देशमा आउने नेपाली संख्या कम हुदै गएको जनाकारी दिए । रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले संचालन गरेको बैठकमा संघका महासचिव डा हेम राज शर्मा, प्रवक्ता डिबी क्षेत्री लगायत १३ देशका एनआरएनए अध्यक्षहरुको उपस्थिती थियो ।