इलाम । इलाम नगरपालिकामा सुनुवार सांस्कृतिक संग्रहालय भवन निर्माण गरिएको छ । इलाम नगरपालिका–३ पुवामझुवास्थित चैतेस्थित सुनुवारहरुको धार्मिक स्थल परिसरमा निर्मित संग्रहालयको आइतबार नगरप्रमुख महेश बस्नेतले उद्घाटन गरे । भवनको उद्घाटन गर्दै नगरप्रमुख बस्नेतले सीमान्तकृत वर्गका किरात सुनुवार समुदायको धार्मिक, भाषिक, सांस्कृतिक पक्षलाई पर्यटन व्यवसायसित जोडेर लैजानुपर्ने बताए ।
कार्यक्रमको उद्घाटन समारोहमा उपप्रमुख सुशीला नेम्बाङसमेत उपस्थित थिइन् । दुई तले संग्रहालय भवन नगरको २१ लाख २५ हजार रुपैंया र बाँकी स्थानीयको योगदानगरी कूल २५ लाख रुपैयाँमा निर्माण भएको जानकारी दिइएको छ । चैतेमा अवस्थित सुनुवार समुदाय पाटेनागी पर्यापर्यटन क्षेत्र अन्तर्गत प्रबेशद्धारको रुपमा रहेको छ । सुनुवारहरुको आफ्नै भाषा, लिपी, धर्म, संस्कृति, रीति र परम्परा भएकाले सोको विकास र प्रबद्र्धन गर्दै पाटेनागी पर्यटनसंगै जोड्न चाहेको बस्नेतको भनाई छ ।
“यो सुरुवात मात्र हो ।” नगर प्रमुख बस्नेतले भयो,“ हामी यस समुदायको साँस्कृतिक विकासमा थप कामहरु गर्दै जानेछौं ।” त्यसै गरी आइतबार नै नगर प्रमुख बस्नेत र उपप्रमुख नेम्बाङले वडा नम्बर ३, पुवामझुवास्थित वीणापाणी मावि परिसरमा निर्मित नयाँ दुई तले चार कोठे विद्यालय भवनको पनि उद्घाटन गरे ।
कार्यक्रमको अध्यक्षता वडाअध्यक्ष तिर्थ गुरुङले गरेका थिए । सो भवन सहित वडा नम्बर–१ को जनता आधारभूत विद्यालय र वडानम्बर–९ को भगवती माध्यमिक विद्यालयमा एकै खालको भवन जम्मा ९४ लाख ४१ ह्जार, आठसय १८ रुपैंयामा बुद्धिष्ट निर्माण सेवाले ठेक्का पारी निमार्ण सम्पन्न गरिएको हो । यसअघि वडाकै जल्केनीस्थित सानो पुवा खोलामा निर्मित मोटरेबल पुलमा तरेर उद्घाटन समेत गरेका थिए।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कालीबहादुर भुजेल, शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख प्रेम गौतम, इन्जिनियर दिपक प्रसाद गुरागाँई, कार्यपालिका सदस्य पृथसिंह सुनुवार, सुनुवार सेवा समाजका प्रतिनीधि, पाटेनागी पर्यटन समिति समिति प्रतिनिधी, नगर पर्यटन प्रबद्र्धन समिति प्रतिनिधी, बिद्यालय प्रतिनीधि, वडा प्रतिनीधि लगायतको उपस्थिती थियो । इलाम नगरपालिकाले वडामा गरेका थुप्रै काममध्ये यी दुई पनि मुख्य काम भएको स्थानीयको भनाई छ।