फाकफोकथुम । काम गरि खान लजाउनुपर्दैन् । आफुले सिकेको श्रम र सिपले नेपालमै गरेर खान सकिन्छ भन्ने उदाहरण हुन् इलामको फाकफोकथुम गाउँपालिका–३ आमचोकका केवल खड्का । १३ बर्ष अघि परिवारको आर्थिकअवस्था उकास्न विदेशको सपना बोकेर कतार हानिए । तर त्यहाँ पनि खासै कमाई गर्न नसकेपछि जेनतेन ४ बर्ष विताएर नेपाल नै फर्किए ।
कम्पनीमा भने अनुसारको काम र कमाई नभएपछि नेपालमा नै केही गर्ने अठोट लिएर फर्किएका उनी वेरोजगार जस्तै भए । सिप समेत केही नभएपछि उनीसंग बाबु बाजेले जस्तो कुटो कोदालो समाउनुको विकल्प समेत रहेन् । केही महिना अघि निल डेभिड हेयर एन्ड व्युटी एकाडेमी झापाबमा सैलुन तालिम लिएपछि उनले पालिकाको केन्द्र रहेको आमचोकमा सटर लिएर केस र दाह्री मिलाउन पेसालाई अंगाले ।
सुरुसुरुमा गाउँसमाजले क्षेत्रीको छोराले सैलुन चलाएको देखेर खिसिट्युरी गर्न समेत बाँकी राखेनन् । केवल कसैको पनि पर्वाह नगरी आफ्नो काममा तल्लिन रहे । ‘ सूरुसुरुमा क्षेत्रीको छोराले सैलुन चलाउने भन्ने गिज्याउ कुनै कसर बाँकी राखेनन् । तर काम गरेर खान के को लाज ?’ उनले प्रश्न गरे ।
सुरुमा गिज्याउने साथीभाईहरु नै अहिले उनको ग्राहक हुन् । केवल फकफोकथुममा सैलुन व्यवसायको निर्विकल्प हुन् । सिंगो पालिकामा उनले मात्रै सैलुन चलाएका छन् । भौगोलिक रुपमा फाकफोकथुम गाउँपालिका दुर्गम क्षेत्र रहेकाले सैलुन व्यवसायमा उनको विकल्प छैन् ।
केवलबाट सेवा नलिए नजिकै सेवा लिनका लागि इलाम र पाँचथरको सिमानामा पर्ने रवि बजार नै पुग्नुपर्छ । ‘अहिले सैलुनमा गाउँपालिकाको विभिन्न क्षेत्रबाट केस र दाह्री मिलाउन आउनेको संख्या बढ्दो छ । पालिका भरीको एउटा मात्र सैलुन भएकाले पालो पर्खनु नै पर्छ ।’ उनको सैलुनमा बिधार्थी, प्रहरी, शिक्षक, कर्मचारी, जनप्रतिनिधिको भिड टुट्दैन् ।
कतिपय ग्राहकहरुले अवेरसम्म कुर्दा पनि पालो नपाएपछि भोली पल्ट आएर सेवा लिने गरेको उनी सुनाउँछन् । अहिले उनी केस र दाह्री मिलाएर नै दैनिक रुपमा खर्च कटाएर २ हजार रुपैयासम्म आम्दानी गर्छन् । मासिक रुपमा सवै घर खर्च कटाएर ३० हजार रुपैयासम्म बचत हुने गरेको उनी सुनाउँछन् । श्रम गर्न सक्दा नेपालमा नै सुन फल्ने उनको तर्क छ ।
‘असली सुन त नेपालमा नै रहेछ म भने सुन कमाउन विदेश भौतारिरहे ।’ उनले भने ‘ काम सानो ठुलो भन्ने नहुँदा रहेछ जसले श्रम र मेहनत गर्न सक्यो उसैले कमाउने रहेछ ।’ उनी विदेश जान चाहने युवाहरुलाई नेपालमा नै केही गर्न सुझाव दिन्छन् ‘ ४ बर्षसम्म विदेशमा बसेर खान लाउन बाहेक केही कमाउन सकिएन् अहिले नेपालमा सैलुन चलाएर घर खर्च कटाएर बचत पनि गर्दैछु । विदेश जानु भन्दा यहि श्रम गर्नु उचित हुन्छ परिवारहरुको साथमा नै ।’