इलाम । युरोपमा बैदेशिक रोजगारीमा लैजाने भन्दै झापाका एक युवाले इलाम र झापाका युवाहरूलाई ठगेको भन्दै पिडितहरूले गुनासो गरेका छन् । झापाको कनकाई नगरपालिका–३ सुरूङ्गा स्थायी ठेगाना भएको बताउने प्रदिप पौड्यालले युवाहरूलाई विदेश पठाउने भन्दै ३ लाख ५० हजार सम्म उठाएर तीन बर्ष देखि सम्पर्क बाहिर रहेको उनीहरूको गुनासो छ ।
तीन बर्ष अघि ३ लाख ५० हजार ऋण काडेर पौड्याललाई बुझाएका इलामको सूर्योदय नगरपालिका ८ कजेनीका राम कुमार प्रधानले पहिले हंगेरी लाने भन्दै ८ लाख मागेको पछि त्यो ठाउमा लान नसक्ने भन्दै स्टोनिया लाने भनेर ३ लाख ५० हजार लिएको बताए । प्रधानको छिमेकमै आमाको नाममा जग्गा भएका पौड्यालले छोरालाई विदेश लगिदिने भनेपछि विश्वासका भरमा सो रकम दिएको उनले बताए । प्रधानले भने “ मैले कुनै प्रमाण विनै धेरै रकम नगद नै दिए, आईएमइ मार्फत पठाएको केही रकम मात्रै प्रमाणको रूपमा राखेको छु ।“
उनले इलाम र झापाका युवाहरूको २० लाख भन्दा माथि रकम उठाएर पौडेल वेपता भएको दावी गरे । पौड्यालले नेपालमा आफुले मान्छे पठाउने देशको दुतावास नभएको भन्दै भारतको दिल्लीबाट प्रकृया अघि बढाउने बताउने गरेको प्रधानको भनाई छ । पैसा नपाउञ्जेल पौड्यालले रकम ढिलो पठाए काम रोकिने भन्दै रकम माग्ने गरेको पिडितको भनाइ छ ।

पौड्यालबाट ठगिएकाहरु
मेचीनगर नगरपालिका ६ का प्रदिप भण्डारीले पनि आफुबाट ३ लाख ५० हजार रूपयाँ लगेको बताए । उनले पौड्यालले आफुहरूलाई ठगेर कतार भागेको बताए । इलामको माइजोगमाई गाउँपालिका ३ नाम्सालिङका नवीन कुमार श्रेष्ठले पौड्यालले हंगेरीको छाला कम्पनिमा राम्रो काम लगाउने भन्दै एक लाख ५० हजार ठगेको बताए ।
उनले युरोपमा नपढेका मान्छेलाई पनि काम मिल्ने भन्दै रकम लगेको बताए । ३६ प्रतिशत व्याजमा ऋण काढेर पौड्याललाई रकम बुझाएका उनी त्यहि रकम तिर्न खेती किसानी गर्नु परेको बताउछन् । सूर्योदय नगरपालिका १० रमितेका रामहरि प्रधानले पनि छोरालाई युरोपको राम्रो कम्पनीमा काम लगाउने आश्वासन पाएपछि १ लाख ५० हजार बुझाएको बताए ।
उनले भने “ मासिक एक लाख ५० हजार तलव दिने कम्पनीमा पठाउछु भनेपछि एडभान्स स्वरूप १ लाख ५० हजार रूपयाँ बुझायौ ।“ उनका अनुसार रकम पाएको छ महिना सम्म सम्पर्कमा रहेका पौड्याल अहिले सम्पर्क विहीन छन् ।
पौड्यालले रकम पाएपछि ३ महिनामा काम हुने आश्वासन दिएको रामहरिले बताए । उनले रकम दिएपछि तीन महिनामा काम नभए रकम झिक्नु भन्दै नलेखिएको चेक थमाएका थिए । तर, छ महिना सम्म पनि प्रकृया जारी रहेको भन्दै आफुहरूलाई झुक्याएको उनले बताए ।
पिडीतहरूसंग उनले दिएको चेक र आफुले रकम पठाएको कागज मात्रै प्रमाण छ । पौड्यालले आफ्नो मेनपावर कम्पनी काठमाडौको एयरपोर्ट नजिक रहेको बताए पनि नाम समेत नबताएको पिडीतले बताए । पौड्यालले युवाहरूको राहदानी समेत आफ्नै कब्जामा राखेका छन् । पौड्याल वेपत्ता हुनुअघि काठमाडौंको कालिमाटी-९ मा बस्ने गरेको पिडीतहरूले बताएका छन् ।