इलाम । ४० बर्ष भारतीय जेलमा विताएका इलाम माई नगरपालिका-१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाकी आमा धनमायाको निधन भएको छ । धनमायाको आज ८९ बर्षको उमेरमा निधन भएको हो । उनका नाति गोपाल तिम्सिनाका अनुसार आइतबार बिहान उनको लुम्बकस्थित घरमै निधन भएको हो।
‘दुई-चार दिनदेखि हजुरआमाका हातगोडा सुन्निएका थिए। म ठूलोबुवालाई लिन विराटनगर आएको थिएँ,’ गोपालले भने,‘हजुरआमा त आज बिहान बितिहाल्नुभएछ। ठूलोबुवा र म अहिले झापा पुगेका छौं।’ दुर्गाप्रसाद गोपालका ठूलोबुवा हुन्। कलकत्तास्थित दमदम सेन्ट्रल जेलबाट छुटेर पोहोर साल घर आइपुगेका दुर्गाप्रसाद गाउँले जीवनसँग घुलमिल हुन सकेनन्।
चार दशक जेलमा बिताएकाले होला उनलाई गाउँमा निकै गाह्रो भयो। गाउँमा असहज भएपछि दुर्गाप्रसादलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको थियो। ‘ठूलोबुवा र हजुरआमालाई अन्तिम पटक भेटाइदिम् भनेर आएको थिएँ। हामी बाटैमा हुँदा उहाँ बितिहाल्नुभयो,’ गोपालले भने,‘सायद लेखेको रहेनछ ! ’
दुर्गाप्रसाद र धनमायाको भेट भएको एक बर्ष पनि पुगेको छैन । दुर्गाप्रसाद धनमायाको जेठा छोरा हुन् ।