Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रिय सभामा कुन प्रदेशबाट को को निर्वाचित

राष्ट्रिय सभामा कुन प्रदेशबाट को को निर्वाचित

  • लोकल सन्देश
  • बुधबार, माघ १२ २०७८


राष्ट्रिय सभामा कुन प्रदेशबाट को को निर्वाचित

इलाम । रिक्त रहेको राष्ट्रियसभाको निर्वाचनको अधिकांश स्थानमा सत्ता गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । प्रदेश १ बाहेकका अन्य प्रदेशका सत्ता पक्षका सबै उम्मेदवारले बिजयी हासिल गरेका छन् । प्रदेश १ मा मात्रै सत्ता पक्ष बाहेक एमालेका उम्मेदवार बिजयी भएका छन् ।

प्रदेश १ मा गोलाप्रथाबाट कांग्रेसका उम्मेदवार विजयी
राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश एकको अन्य तर्फ सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार गुरु बराललाई गोला प्रथामा हराउँदै कांग्रेसका बस्नेत निर्वाचित भएका हुन्। दुवै उम्मेदवारले बराबर मत प्राप्त गरेपछि राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार गोलाप्रथाबाट बिजेता घोषणा गरिएको हो।

बराल र बस्नेतले बराबर ४ हजार ४ सय ८८ मत प्राप्त गरेका थिए। अल्पसङ्ख्यक कोटाबाट एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा विजयी भएका छन्। एमालेका नेता शेर्पाले गठबन्धनका उमेदवार हेमराज राईलाई पराजित गर्दै विजयी भएका हुन् ।

अल्पसङ्ख्यक कोटाबाट उम्मेदवार बनेका शेर्पाले ४ हजार ७ सय ५२ मत प्राप्त गरे। गठबन्धनका तर्फबाट उम्मेदवार राईले ४ हजार ३ सय ६८ मत प्राप्त गरे।
बागमतीमा गठबन्धनका दुवै उम्मेदवार विजयी
राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट दुवै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बुधबार भएको निर्वाचनबाट सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी महिलातर्फ गोमादेवी तिमल्सिना र अन्यतर्फ कृष्णप्रसाद पौडेल विजयी भएका हुन्।

तिमल्सिना नेकपा (एकीकृत समाजवादी) र पौडेल नेपाली कांग्रेसका हुन्। स्थानीय तहतर्फ २३७ र प्रदेशसभा तर्फ १०६ गरि कुल ३४३ मत खसेकोमध्ये तिमल्सिनाले स्थानीय तहबाट ११६ र प्रदेशबाट ५७ मत प्राप्त गरिन् । स्थानीय तहतर्फ उनको मत भार २०८८ रहेको छ भने प्रदेशतर्फ २ हजार ७ सय ३६ मत भार छ ।

महिलातर्फ एमालेबाट उम्मेदवार बनेकी नीरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ र प्रदेशतर्फ ४७ मत पाइन् । उनको मतभार स्थानीय तर्फ २१०६ र प्रदेशतर्फ २२५६ छ। त्यस्तैगरी अन्यतर्फ गठबन्धनबाट विजयी पौडेलले स्थानीय तहतर्फ ११७ र प्रदेशतर्फ ५६ मत पाउँदा एमालेका उम्मेदवार गोपाल शाक्यले स्थानीयतर्फ ११६ र प्रदेशतर्फ ४७ मत पाए ।

पौडेल र शाक्यको प्रदेश तर्फको मत भार क्रमशः २१०६ र २०८८ रहँदा प्रदेशतर्फ २६८८ र २२५६ रहेको छ। नेमकिपाको महिला तर्फको उम्मेदवार गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङले स्थानीय र प्रदेश दुवैतर्फ समान २र२ मत पाए। स्थानीय तहतर्फ महिला र अन्य दुवै तर्फ २र२ तथा अन्यको प्रदेशतर्फ १ मत बदर भएको छ।
कर्णालीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी
कर्णाली प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय सभा सदस्यका तीन रिक्त पदमा भएको निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धनका उम्मेदवार कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकिकृत समाजवादीका उदय बोहरा विजयी भएका हुन् ।

प्रदेश निर्वाचन कार्यालयकी सूचना अधिकारी निर्मला रेग्मीका अनुसार निर्वाचित गुरुङले दुई हजार ९७०, विष्ट र बोहोराले तीन हजार ६ मतभार प्राप्त गरेका छन् । तीन मत बदर भएका छन् । यस्तै पराजित एमालेका गंगा थापा महतले एक एक हजार ४१६, पदमबहादुर माझीले एक हजार ३९८ र चूडामणि शर्मा एक हजार ४१६ मत मात्र प्राप्त गरेका छन् ।

बुधबार बिहान ९ बजेदेखि प्रदेश राजधानी वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा भएको निर्वाचनमा ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १५६ पालिका पदाधिकारीमध्ये १५५ जनाको मत खसेको सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।
मधेसबाट राष्ट्रियसभामा माओवादी केन्द्रकी अर्याल निर्वाचित
राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित भएकी छन् । बुधबार भएको मतगणना अनुसार उनले ६ हजार १५६ मतभारसहित निर्वाचित भएकी हुन् ।


गण्डकी प्रदेशबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित
राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । राष्ट्रिय सभा सदस्यका तीन रिक्त पदमा भएको निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर, र भुवनबहादुर सुनार र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् ।

प्रदेश निर्वाचन कार्यालयका अधिकृत श्रीकृष्ण भट्टराईका अनुसार आलेले ३,०९६, सुनारले ३०८४ र पन्तले ३०८४ मतभार पाएका छन् । यस्तै पराजित एमालेका पूण्यप्रसाद पौडेलले २,६९४, अर्जुनकुमार सुनामले २,७२४ र लीला पोखरेल थनेतले २,७२४ मतभार पाएका थिए ।

बुधबार बिहान ९ बजेदेखि पोखरास्थित निर्वाचन कार्यालय परिसरमा भएको चुनावमा प्रदेशसभाका ५८ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १६८ जनाले मतदान गरेका थिए ।
लुम्बिनीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका तीनै उम्मेदवार निर्वाचित
लुम्बिनीको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । लुम्बिनीमा तीन रिक्त पदमा एमालेका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट खु्ल्ला सदस्यमा नेपाली कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्मा निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

शर्माले ४३४४ मतभार प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामदयाल गुप्ताले ३३७८ मतभार पाए । त्यस्तै महिलातर्फकी उम्मेदवार गैरेले ४,३७४ र उनकी प्रतिद्वन्द्वी एमालेकी भारती खनालले ३,३१२ मतभार प्राप्त गरेकी छन् ।

दलिततर्फ विश्वकर्माले ४३५६ मतभार र प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर सुनारले ३३४८ मत प्राप्त गरेका छन् । निर्वाचनमा प्रदेश सभा सदस्य एक बराबर ४८ र स्थानीय तह तर्फ एक सदस्य बराबर १८ मतभार तोकिएको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कुल २९६ मतदातामध्ये २९४ मत खसेको थियो । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१३ मत र प्रदेशसभा सदस्यको ८१ खसेको थियो । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजे सुरु भएर ३ बजे सकिएको थियो ।

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका तीनै उम्मेदवार विजयी
सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खुलातर्फका उम्मेदवार मिश्रले प्रदेशसभातर्फको कूल ५२ मध्ये ३९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले १३ मत पाए । स्थानीय तहतर्फ कूल १७५ मध्ये मिश्रले १०४ मत र ६९ भट्टले मत प्राप्त गरेका छन् । स्थानीय तहतर्फ दुई मत बदर भए । दलितमा माओवादी केन्द्रका पार्कीले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०५ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरेश विकले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६७ मत पाएका छन् । दलिततर्फ प्रदेशसभामा १ र स्थानीय तहतर्फ ३ मत बदर भए । महिलामा एकीकृत समाजवादीकी शाहले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०९ मत ल्याइन् भने उनका प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमार थापा शर्माले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६४ मत प्राप्त गरिन् ।

महिलातर्फ प्रदेशसभातर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भए । सुदूरपश्चिम प्रदेशसभामा ५२ जना मतदाता९प्रदेशसभा सदस्य० रहेकोमा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १/१ जना मतदाता थिए ।

स्थानीय तहतर्फ १७५ मतदाता थिए । ती मध्ये नेपाली कांग्रेसका ७४ जना, नेकपा एमालेका ७१ जना, माओवादी केन्द्रका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार