फिक्कल : फिक्कल खानेपानी उपभोक्ता तथा सरसफाई संस्था को सातौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । १ करोड ७५ लाख २ सय ३ रुपैया २० पैसा बराबरको आर्थिक कारोबार पारिद गर्दै सभा सम्पन्न भएको हो । आर्थिक बर्ष २०७८÷७९ को मंसिर मसान्त सम्म ७२ लाख २ हजार ८ सय १४ रुपैया बैँक मौज्दात रहेको जनाईएको छ ।
साधारण सभाका प्रमुख अतिथी प्रदेश नं १ का सांसद काजीमान कागतले प्रदेश कै पर्यटकीय नगरी सूर्योदयमा खानेपानीको प्रबन्ध गुणस्तरीय रहेको बताएका छन् । पर्यटन प्रर्वद्धनका लागि होटल आवश्यक र त्यसका लागी खानेपानी महत्वपूर्ण हुने भन्दै खेर गएका पानीलाई मिनिरल वाटरका रुपमा उत्पादन गरि विक्री गर्न सकिने सम्भावना रहेको बताए ।
कागतेले सूर्योदयमा रात्री पर्यटनको विकास गर्न सके आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । सरोकारवाला निकायले सहयोग गर्नुपर्ने भन्दै आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको पनि उनले बताए । खानेपानीमा अझै सुधार गर्नु पर्ने र ग्राहकलाई गुणस्तरीय पानी वितरणमा संस्था जिम्मेवार हुन आवश्यक रहने उनले बताएका छन् ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष दुर्गा बहादुर बरालले कोरोना भाईरसका कारण समयमा साधारण सभा गर्न नसकिएको बताए । यस क्षेत्रमा खानेपानी ल्याउन साथै सेवालाई गुणस्तरीय र नियमित बनाउन थुप्रै चुनौती रहेपनि सफलता प्राप्त भएको बताए ।
२०५६ सालमा इलाम डिभिजन कार्यलयको निर्देशनमा ११ सदस्यीय कार्यसमिति गठन गरि १५० घरधुरीलाई सःशुुल्क ब्यक्तिगत धारा जोडिएको स्मरण गर्दै अध्यक्ष बरालले त्यसयता हालसम्म थुप्रै चुनौती झेल्दै संघर्षबाट यहाँसम्म आएको सुनाए । खानेपानीको मुहान सूर्योदय नगरपालिका वडा नं १ स्थित श्रीखोलामा रहेको र भौगोलिक वनावटमा टाढा रहेकाले कयौँ अप्ठयारा पार गर्नु परेको उनले बताए ।
श्रीखोलाबाट सूर्योदय नगरपालिका ९ को काजीफाटक सम्म २८ किलोमिटर प्रसारण लाईन रहेको छ । हाल संस्थाले १ हजार ४ सय २९ घरधुरीलाई २४ संै घण्टा प्रति घण्टा ७ लिटरका दरले निरन्तर पानी वितरण गर्दै आएको छ ।
कार्यक्रममा संस्थापक सचिव ओमप्रकाश राई, कोषाध्यक्ष केशव पौड्याल, संस्थापक सदस्यहरु मोहन श्रेष्ठ, हेम बहादुर फागो, रमला प्रधान र सोनाम छिरिङ्ग लामालाई सम्मान गरिएको छ । कार्यक्रमको अवसरमा जग्गा दाता, विभिन्न माध्यमबाट संस्थालाई सहयोग पु¥याउने दुई दर्जन बढीलाई सम्मान गरिएको थियो ।
कोषाध्यक्ष दिनेश कुमार महतले स्वागत मन्तब्य र लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव गंगा कुमार प्रधानले साँगठनिक प्रतिवेदन साथै कार्यक्रमको संचालन गरेका थिए ।