इलाम । नेकपा एमालेको दशौ अधिवेशनमा अध्यक्षमा महेश बस्नेत र डा देवी क्षेत्री दुलालले उम्मेदवारी दिएका छन् । बस्नेत वर्तमान जिल्ला अध्यक्ष समेत हुन् । नवौ अधिवेशनबाट निर्वाचित अध्यक्ष राम राना केन्द्रिय सदस्य निर्वाचित भएपछि सचिव रहेका बस्नेतलाई पार्टी अध्यक्षको जिम्मा दिइएको थियो ।
सचिवालय सदस्य डा क्षेत्री पत्रकारिता र राजनितिको सम्बन्धमा पिएचडी गरेका व्यक्ति हुन् । उनी ‘एक व्यक्ति एक पद’ को एजेण्डा लिएर आफू अध्यक्षको उम्मेदवार रहेको बताए । यस्तै उपाध्यक्षमा उदय राई र याम अधिकारीले मनोनयन गराएका छन् । पुर्व प्रधानमन्त्री झलनाथ खनालको पुर्व स्वकिय सचिव राई सन्दकपुर गाउँपालिकाका अध्यक्ष समेत हुन् ।
उनी पार्टी भित्र १० बुदे नेताका रुपमा चिनिन्छन् । अधिकारी गैर सरकारी महासंघको पुर्व अध्यक्ष समेत हुन् । उनी संघसंस्था मार्फत कार्यकर्ताहरु माझमा भिजेका नेता हुन् । सचिवमा प्रकाश अधिकारी र उमेश गुरुङ नाम दर्ता भएको छ । पत्रकार महासंघ इलामका पूर्वअध्यक्ष रहेका गुरुङ नवौं अधिवेशनबाटै उपसचिवमा जितेका थिए ।
विषम परिस्थितिमा समेत आफू पार्टीमा कटिबद्ध रहेकाले पनि आफू सचिवको दावेदार रहेको गुरुङ सुनाउँछन् । एमाले जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख अधिकारीले संसदीय फाटमा जाने आकांक्षा नरहेको र पार्टी संगठन निर्माणका लागि सचिव हुन चाहेकोले उम्मेदवारी दिएको बताए ।
उपसचिवमा रबिन्द्र सुवेदी, छवि श्रेष्ठ, विष्णुमाया रिमाल, रमेश राई, सन्तराम योङहाङ, नरेश तामाङले उम्मेदवारी दिइसकेका छन् । सुवेदी विद्याथी राजनितिबाट स्थापित नेता हुन् । उनी अनेरास्ववियू प्रदेश १ का संयोजक समेत हुन् । विष्णुमाया आचार्य माई नगरपालिका उपप्रमुख हुन् । रमेश राई पार्टी भित्र बुद्धिजिविको रुपमा चिनिन्छन् ।
पार्टीको पदाधिकारीमा आकांक्षा राख्ने नरेश तामाङ माओवादीबाट एमाले प्रवेश गरेका हुन् । केपी ओलीको प्रतिगमनलाई साथ दिँदै एमाले प्रवेश गरेको तामाङलाई सचिवालय सदस्य पद दिएपछि पार्टीका कार्यकर्ताहरु रुष्ट समेत बनेका थिए । सन्तराम र छवि पार्टी भित्र क्रियाशिल नेताका रुपमा परिचित छन् । अब उम्मेदवारी फिर्ता गर्ने समय एक घण्टाका लागि रहेको छ ।