मंगलबारे । इलामको पश्चिमि क्षेत्रबाट सोझै झापा जोड्ने रक्से गाग्रेभञ्ज्याङ्ग जितपूर सोक्तिम सडक कालोपत्रेको काम शुरु भएको छ । तराईको यात्रा गर्न इलाम सदरमुकाम हुँदै घुमाउरो सडकको प्रयोग गर्दै आएका बासिन्दाका लागि सडक कालोपत्रे थालनीले खुशी भएका छन् ।

इलामको पश्चिमि क्षेत्रका बासिन्दाले तराईको यात्रा गर्न इलाम सदरमुकाम हुँदै घुमाउरो सडकको यात्रा गर्नुपर्थ्याे । देउमाई नगरपालिका-३ को गांग्रेभञ्ज्याङ्गबाट सोझै झापाको विर्तामोड जोड्ने सडक कच्चि हुँदा हिउँदमा मात्रै यातायातका साधन संचालन हुदै आएको थिए । तर अहिले गांग्रेभञ्ज्याङ्ग सोक्तिम हुँदै झापाको अर्जुनधारा जोड्ने सडक कालोपत्रे गर्ने काम तिब्र भएपछि पश्चिमि इलामबासी खुशी भएका छन् ।

प्रदेश एक सरकारको पूर्वाधार विकास कार्यालय झापाबाट बहुवर्षे ठेक्का सम्झौता भई सडक कालोपत्रे काम धमाधम भइरहेको छ । देउमाईदेखि माई नगरपालिकाको सोक्तिम सम्मको साढे २२ किलोमिटर सडक कालोपत्रे हुने भएपछि पश्चिमि इलामका बासिन्दाको तराई यात्रा छोट्टिने भएको छ । सडक कालोपत्रे पछि कृषि उपज निर्यातमा सहजसँगै तराईबाट आवश्यक उपभोग्य सामग्री ढुवानीमा समेत सस्तो पर्ने देउमाई नगरपालिका ७ का रामप्रसाद आचार्यले बताए ।

रक्से गाग्रेभञ्ज्याङ्ग जितपूर बेलासे सोक्तिम सडक कालोपत्रेका लागि प्रदेश एक सरकारले २०७६ कात्तिक १९ मा ठेक्का सम्झौता गरेको थियो । सडक नाला, रिटेनिङ्ग वाल, कल्बट र ग्याभिङ्ग वाल निर्माण डि भि एस टि स्तरमा कालोपत्रे हुनेछ । सडक कालोपत्रे गर्ने काम अहिले ३५ प्रतिसत प्रगति भइसकेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले बताए ।

सडक कालोपत्रेको काम प्यासिफिक एलिट जेभि काठमाडौँसँग सम्झौता भएको थियो । सडक कालोपत्रेका लागि ३९ करोड ८६ लाख १० हजार खर्च हुनेछ । २०७९ असारमा निर्माण सम्पन्न भइसक्नुपर्ने सडक कालोपत्रेको काममा विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना रोगका कारण अवरुद्ध हुँदै आएको छ ।
जसका कारण निर्माण कम्पनीले सम्झौता अनुसार काम गर्न सकेको छैन भने प्रदेश सरकारले पनि समयमै भुक्तानी दिन सकेको छैन ।
