इलाम । प्रदेश १ मा बन्दको आह्वान गर्दै सडकमा निस्किएका इलामका २ सहित २३ जना विप्लव कार्यकर्तालाई पक्राउ गरिएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार इटहरीबाट २१ जना र इलामबाट २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै उदयपुरको गाईघाटमा सवारीसाधन बन्दको आह्वान गर्दै सडकमा निस्किएका विप्लव कार्यकर्तालाई प्रहरीले तितरबितर पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए। बन्दको क्रममा अहिलेसम्म प्रदेश १ मा कुनै अप्रिय घटना भने नभएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
बिहानैदेखि सार्वजनिक सवारी चलेका छैनन्। मंगलबार बिहानै लामो दूरीबाट आएका सवारीसाधन गन्तव्यमा पुगे पनि स्थानीय रुट (छोटो दूरी) का सवारीसाधन भने बिहानैदेखि ठप्प रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
उनका अनुसार निजी सवारी भने फाट्टफुट्ट रूपमा चलिरहेका छन् । अन्य दिनको तुलनामा १० प्रतिशत यातायातका साधन अहिले सडकमा गुडेको उनको भनाइ छ।