इलाम : इलाम नगरपालिकाले स्रष्टाहरुको सम्मान भन्दै लाखौ खर्च गरेर वडा नम्बर–७ मा स्रष्टा पार्क निर्माण गरेको छ । इलाम बजार नजिकैको तरकारी बजार मुनी निर्माण भएको पार्कको आइतबार उद्घाटन गरिएको छ । निर्माण भएको पार्कको नगरप्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङले उद्घाटन गरेका छन् ।
पार्कको उद्घाटन गर्दै नगरप्रमुख महेश बस्नेतले सबै साहित्यकार, कलाकारलगायत स्रष्टाको सम्मानका निम्ति पार्क निर्माण गरेको बताए । पार्कमा जिल्लामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान पु¥याएका स्रष्ठाको नाम समावेश गरिएको छ । यस्तै, प्रतिमाका रूपमा चिकित्सक र नर्सको मूर्ति समेत निर्माण गरिएको छ ।
नगर प्रमुख बस्नेतले नगरले इलामलाई सुसंस्कृत बनाउनका लागि यस्ता काम गरेपनि समाजका नकरात्मक काम गर्ने केही व्यक्तिले त्यस्ता विध्वंश गरेको बताए । उनले नगरमा निर्माण गरेको केही मूर्तिको तोडफोड समेत गरिएको भन्दै आपत्ति जनाए । चियावारीमा निर्माण गरिएको साँस्कृतिक दुई मुर्तिमा तोडफोड भएको थियो । कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले खेर गएको जग्गालाई व्यवस्थापन गरेर नगरले धेरै महत्वपूर्ण संरचना निर्माण गरेको भन्दै नगरको प्रशंसा गरे ।
यस्तै, इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठले वडामा धेरै बिकासका काम भएको बताए । उनले आवश्यकक्ता अनुसार विकास निर्माणका काम भइरहेको र हुँदै जाने बताए । कार्यक्रमको आयोजना इलाम नगर साहित्य तथा कला प्रतिष्ठानले गरेको थियो । प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
स्रष्टाद्धारा नै कलात्मक बिरोध
तर सबै स्रष्टालाई समावेश गर्न नसकेको भन्दै जिल्लाकै स्रष्टाले भने गुनासो गरेका छन् । इलामका कार्टुनिष्ट प्रेम केसीले अन्य स्रष्ठाको नाम मात्र अटाएको तर आफ्नो नाम नअटाएको भन्दै गुनासो गरे । उनले कार्टुनबाट नै बिरोध जनाए । साथै सामाजिक सञ्जालमा बिभिन्न क्षेत्रबाट पाएको सम्मान र प्रशंसा पत्र सार्वजनिक गर्दै गुनासो समेत गरे ।
कलाकार केसीले सञ्चालन गरेको आर्ट ब्यवसाय इलाम नगरपालिकाको आगनमा नै छ । तर पनि आगनमा नै बसेर काम गर्ने कलाकार नचिनेकोमा केशीले दुःख ब्यक्त गरेका हुन् । कलाकार केशीले जिल्लाका पर्यटकिय स्थलको नक्सा, पेन्ट तथा कार्टुन बनाएर पनि जिल्लाको प्रचार गरिरहेका छन् । उनी ब्यवसायिक रुपमा नै आफ्ना कला प्रस्तुत गरिरहेका छन् ।