झापा । पूर्व प्रधानान्त्री केपी शर्मा ओली प्रथम पटक प्रधानमन्त्री हुँदा (२०७२ सालमा) दमकको विकासका लागि विभिन्न विकासे योजनाको घोषणा गरे । सोही अनुरुप दमक नगरपालिका –३ मा देशकै सबैभन्दा अग्लो दृश्यावलोकन स्तम्भ (भ्यू टावर)लाई प्राथमिकतामा राखे ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर ‘दमक भ्यू टावर’ निर्माण सुरु गर्यो । सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका अनुसार ०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार ०७८ पुस २७ मा उक्त टावर निर्माणको समयवधि सकिँदै छ । ०७८ कात्तिक पहिलो सातासम्म ४७ प्रतिशत काम मात्र सम्पन्न भएको निर्माण कम्पनीका आयोजना प्रबन्धक सर्जल बिडारीले बताए ।
१ सय मिटर अग्लो र १८ तले भ्यू टावर चिनियाँ कम्पनी जेडसीजीआईइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ रुपैयाँमा निर्माणको ठेक्का पाएका हुन् । कोरोनाका कारण निर्माण प्रकृया ढिला भएको बिडारीको भनाई छ । म्याद थपेर काम गरिने उनी बताउँछन् ।

अहिले भ्यू टावर सातौँ तला निर्माण भइरहेको छ । तर, करोडौँ खर्च गरेर निर्माण सुरु भएको भ्यू टावरको निर्माणले स्थानीय बासीलाई पीडा थपिएको छ । भ्यू टावरबाट निस्कने पश्चिमतर्फको गेट अगाडी ५० परिवार सुकुम्बासी बस्ती छ । अहिले निर्माण चरणमा रहेको सातौँ तलाबाट सुकुम्बासीको गरिवी प्रष्टै देखिन्छ । चार दशकदेखि सोही स्थानमा बसोबास गर्दै आएका उनीहरुले अहिलेसम्म आफूले भोगचलन गरेको जग्गाको धनीपुर्जा पाएका छैनन् ।
जतिजति भ्यू टावर निर्माण जान्छ उती नै पीडा थपिने उनीहरु सुनाउँछन् । “भ्यू टावर बनिसके पछि हाम्रो बस्ती हटाउने हल्ला सुनिदैँ छ” पोष्टबहादुर दर्जी भन्छन्, “यति ठूलो भ्यू टावर बन्दा न हामीले रोजगारी पायौँ न खुशी नै छौँ ।”
गरिवीका कारण स्वास्थ्य, शिक्षा, शुद्ध पीउने पानीबाटसमेत आफूहरु बञ्चित हुँदै आएको उनको भनाई छ । बस्तीलाई व्यवस्थित बनाएर धनीपुर्जा उपलब्ध गराउनु पर्ने उनको माग छ ।
सरकारी पक्षबाट व्यवस्थापनका लागि अहिलेसम्म कुनै चासो नदेखाएको दर्जीले सुनाए । सहरी विकास कार्यालयमार्फत् चलेको सुरक्षित नागरिक आवास कार्यक्रमबाट त्यहाँ सुकुम्बमसीले घर छाउन ५० हजार रुपैयाँ अनुदान पाएका छन् । सरकारले घर छाउन ५० हजार दिएको स्थानीय देवी बर्देवा बताउँछिन् । “५० हजारले घर बनाउन कहाँ पुग्छ र रु उनी भन्छिन्, “ऋण काडेर घर बनाइरहेका छौँ । तर, बस्ती नै नरहने हो कि भन्ने पीर छ ।”

२०२४ सालदेखि टुकुरेबस्तीमा बस्दै आएकी तारा धिमाल १६ कट्ठा जग्गाको फिल्डबुक भए पनि जग्गाधनी प्रमाणपुर्जा नभएको बताउँछिन् । “आँगन नजिकै भ्यू टावर ठडिएको छ । हामीले आफैँ फडानी गरेर बसेको जग्गाको धनिपुर्जा अहिलेसम्म छैन ।” उनले भनिन्, “हामीले भ्यू टावर निर्माणका लागि जग्गा पनि दिएका छौँ । हाम्रो बस्तीलाई हटाउने भन्दा पनि यहीँ व्यवस्थित बनाउनु पर्यो ।”
सुकुम्बासीबस्ती कै चिनजान पाँचकोटीको घर निर्माणाधीन भ्यू टावरको पर्खालसँगै जोडिएको छ । उनी निर्माण क्षेत्रमा मजदुरी गर्छन् । विहान ८ बजे मजदुरीमा जाने र बेलुका ६ बजे फर्कने उनको दैनिकि हो । त्यही मजदुरीबाट दैनिक कमाइ हुने १ हजार रुपैयाँले उनी परिवार धान्दै आएका छन् ।
तर, आँगनसँगै जोडिएको भ्यू टावर निर्माण क्षेत्रमा आफूले रोजगारीका लागि गुहारेपनि नपाएको उनी सुनाउँछन् । पाँचकोटीका दुई जना छोरा छन् । ढुकुरपानी माविमा कक्षा ६मा अध्ययनरत् उनका जेठ्ठा छोरा निसान पाँचकोटीले पढाई छाडिसके । गरिवीकै कारण छोरालाई पढाउन नसकेको उनले सुनाए ।
भ्यू टावर निर्माण सँगै देशकै आर्थिक समृद्धिको थलो दमक बन्ने बहस भइरहेका बेला स्थानीयबासी भने आफ्नो थाकथलो छोडेर हिँड्नुपर्ने हो कि भन्ने चिन्तामा छन् । दमक नगरपालिकाका –३ का वडाध्यक्ष नविन बरालले भ्यु टावर बने सुकुम्बासी विस्थापित हुनु नपर्ने बताए । “भविष्यमा बस्तीलाई व्यवस्थित गर्न भने पहल गर्ने छौँ” बराल भन्छन् । याे समाचार काराेबार दैनिकमा मनिषा चम्लगाईले लेखेकी हुन् ।
