इलाम : नेपालमा चिया खेती सुरु भएको १५८ वर्ष भए पनि चिया उद्योग र बगानमा काम गर्ने प्राविधिक जनशक्ति अभाव छ। नेपालको चिया अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिँदै आए पनि चिया विषयमा अध्ययनको व्यवस्था नहुँदा नेपालका चिया उद्योग र बगानमा भारतबाट चिया प्राविधिक ल्याएर काम गर्नुपर्ने बाध्यता रहेको हो। साना लगानीमा चलेका घरेलु उद्योगबाहेकका ठूला कारखानमा विज्ञको रुपमा भारतीय नागरिकहरु काम गर्दै आएका छन्।
टी टेस्टिङका लागि समेत भारतीय नागरिकहरुलाई विज्ञको रुपमा प्रयोग गरिँदै आइएको छ। चिया उद्योगका प्रबन्धक, टि मेकर र चिया बगानमा काम गर्ने प्राविधिक भारतीय नागरिक हुँदा हरेक वर्ष लाखौँ रुपैयाँ भारत जाने गरेको छ।
नेपालमा चिया विषयको पठनपाठन नहुँदा उच्च शिक्षा अध्ययनका लागि भारत वा तेस्रो मुलुकमा जानुपर्ने बाध्यता छ।
नेपालका चिया क्षेत्रका प्राविधिक र विज्ञताको प्रमाणपत्र पाउनेको संख्या कम छ। उनीहरु प्राय विदेशबाट अध्ययन गरेर आएका हुन्। ६ वर्षअघि झापाको मेची बहुमुखी क्याम्पसमा विज्ञान संकायको स्नातक तहमा चियासम्बन्धी अध्ययन सुरु गरिएको थियो। तर, क्याम्पसको आन्तरिक समस्याका कारण तीन वर्षभन्दा लामो समय टिक्न सकेन।
सुरुमा २४ जनाको कोटामा २४ विद्यार्थीले अध्ययन गरेकामा दोस्रो वर्ष सोही कोटामा १६ जना मात्र विद्यार्थी भर्ना भए। यस्तै, तेस्रो वर्ष छ जना विद्यार्थी मात्र भए। चौथो वर्षदेखि विद्यार्थी नहुँदा यस विषयको पढाइ बन्द भयो। नेपालका सरकारी स्वामित्वको नेपाल चिया विकास निगमदेखि निजी लगानीमा खुलेका उद्योगका प्रबन्धक र प्राविधिक भारतीय नागरिक रहेका छन्। चिया उद्योगका प्रबन्धकले नेपाल, भारत र तेस्रो मुलकका नागरिकको मागका आधारमा तयारी चिया बनाउने गरेका छन्।
नेपाली चिया उद्योगमा अर्थोडक्स चियाको इतिहास बोकेको भारतको दार्जिलिङका नागरिकले प्रबन्धकको जिम्मा लिएका छन्। व्यावसायिक रुपमा चिया खेती गरे पनि चिया विषयको अध्ययनको व्यवस्था नहुँदा किसानका छोराछोरीपनि वैदेशिक रोजगारीमा जाने गरेको चिया उद्योगी उदय चापागाईले बताउँछन्।
इलाम चिया खेतीको उर्वर भूमि हो तर चियासम्बन्धी विज्ञता हासिल गरेका व्यक्ति औंलामा गन्न सकिन्छ। उद्योगका प्राविधिक हुन् या प्रबन्धक भारतबाट ल्याउनुपर्ने बाध्यता छ,’ चापागाईले भने, ‘चिया अध्ययनको अवसर नहुँदा किसानका छोराछोरीहरु पनि चिया क्षेत्रबाट पलायन भएर वैदेशिक रोजगारीका जानुपर्ने बाध्यात्मक अवस्था देखिन्छ।’
नेपालमा स्पष्ट शिक्षा नीति र खर्च बढी लाग्ने भएकाले चिया विषयको अध्ययन हुन नसकेको हो। यही कारण अहिले पनि चिया क्षेत्रमा अब्बल प्राविधिकको अभाव छ। चियाबारे अध्ययन नभएकै कारण नेपाली चिया गुणस्तरहीन हुन सक्ने चिया विशेषज्ञ चन्द्रभूषण सुब्बा बताउँछन्।
नेपाली चियाको मुख्य बजार भारत वा तेस्रो मुलुक हो। नेपालबाट जाने अधिकांश चिया भारत भएरै तेस्रो मुलुक जान्छ। यसैले पनि समय समयमा भारतले नेपाली चियालाई समस्या दिइरहन्छ। नेपाली चियामा गुणस्तर भए पनि तेस्रो मुलुकसम्म पहुँच नपुग्दा सकस पर्ने गरेको छ। यसैले पनि चिया क्षेत्रमा दक्ष जनशक्तिको खाँचो पर्दछ। तर अध्ययन नै नभएका कारण सधैँ समस्या पर्ने गरेको पाइन्छ। भारत र तेस्रो मुलुक चिया निर्यात गरी करिब चार अर्ब रुपैयाँ गर्दै आएको छ।
चिया क्षेत्रको विकासका लागि सरकारले चिया तथा कफी विकास बोर्डले कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रममा चिया र कफी विषय समावेश गर्न प्रस्ताव गरेको छ। बोर्डले तत्कालका लागि चिया क्षेत्रमा काम गर्ने प्राविधिक उत्पादन गर्न भारत र चीनका चिया बोर्डसँग सहकार्य गर्ने तयारी गरेका बोर्डका कार्यकारी निर्देशक डा। विष्णु भट्टराईले बताए।