फिक्कल । कन्याम चिया बगानमा अनियन्त्रि रुपमा विषादी छर्ने काम बन्द गर्ने नेपाल चिया विकास निगमले प्रतिवद्धता जनाएको छ । मानवस्वास्थ्यको लागि घातक बिषादीको प्रयोग कन्याम चिया बगानमा बढ्दै गएको चिया तथा कफि बिकास बोर्डले गोदाममा ताला लगाएपछि सूर्याेदय नगरपालिकामा भएको छलफलमा निगमका प्रतिनिधिले आफुहरुबाट गल्ती भएको स्विकार गर्दै आगामी दिनमा चिया तथा कफि विकास बोर्डले सिफारिस गरेको बिषादी मात्र प्रयोग गर्ने बताए ।
निगमका व्यवस्थापक लोकनाथ दंगालले नयाँ कर्मचारीले भुलबश औषधी खरिद गरेको स्विकारे । ‘ नयाँ कर्मचारी आएकोले भुलवश बिषादी खरिद गरेको रहेछ त्यो पनि १ लिटर जति मात्रा रहेछ त्यहाँ पनि भुलचुक भएका छ ।’ उनले प्रतिबन्धित बिषादीको बारेमा जानकारी नहुँदा समस्यामा परेको बताए । दंगालले अबका दिनमा बोर्डसँग परामर्श गरि सिफारिस गरेको बिषादीलाई मात्र प्रयोग गरी प्रतिबन्धित बिषादीलाई निरुत्साहन गर्ने बताए । ‘ बिषादी कुन कुन छर्ने कुन प्रतिबन्धित छ भन्ने बारे लेखेर दिएपछि हामी सहर्ष स्विकार्छौ र भोलीका दिनबाट चिया विकास निगमबाट गल्ती हुँदैन् ।’
राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड फिक्कलका प्रमुख इन्द्र प्रसाद अधिकारीले नेपालमा प्रतिबन्धित २७ प्रकारका बिषादीको बारेमा कन्याम चिया बगानमा होडिङ बोर्ड नै बनाएर राखिएको बताए । ‘ उहाँहरुको बगान भित्र प्रतिबन्धित विषादीको बारेमा होडिङ बोर्ड राखिदिएका छौ । अनुमती लिएर नै राखेका छौ । ’ प्रतिबन्धित बिषादी नभएपनि कडा बिषादीको प्रयोग भइरहेको बताए । अधिकारीले चिया बगानमा कार्यरत मजदुरहरुले सुरक्षाको उपाय नअपनाई बिषादीको प्रयोग गर्दै आएकाले जनस्वास्थ्यमा समेत खतरा बढ्दै गएको औल्याए ।
बिषादी अव्यवस्थित रुपमा प्रयोग भएको पाइएपछि कन्याम चिया बगानको बिषादी भण्डारण कक्षमा ताला
‘स्थलगत रुपमा अनुगमन गर्दा सुरक्षाको उपाय नअपनाइएको देखियो । बाटोमा नै बिषादीहरु ट्याङकरमा खन्याइएको देखियो त्यसले गर्दा के पाउने नपाउने भन्ने बारेमा टि बोर्डसंग सम्पर्क गर्नुहोला ।’ सूर्योदय नगरपालिका अर्थ समितिका संयोजक एवम वडा नं ९ का वडाध्यक्ष देवेन्द्र शर्माले चिया क्षेत्रमा अनियन्त्रित रुपमा कडा खालको बिषादीको प्रयोगले मजदुर मात्र नभई आम जनसमुदाय माथी असर पुग्ने बताए । उनले बिगतका बर्षहरु देखि नै बिषादीको प्रयोगका कारण खानेपानीको मुहान दुषित भएको गुनासो नगरपालिकामा प्राप्त हुँदै आएको बताए ।
‘ बिषादीको प्रयोगले खानेपानी दुषित भयो भन्ने गुनासो नगरपालिकामा पटक पटक आएको छ । यस बारेमा छलफल समेत चलाइएको छ ।’ शर्माले भने । उनले प्रतिबन्धि औषधीको बारेमा जानकारी नभएको तर्क न्यायोचित नभएको बताए । ‘ बर्षौ देखि बगान चलाईरहनुभएको छ कुन प्रतिबन्धि कुन प्रयोग गर्न मिल्ने भन्ने बारे जानकारी छैन् भन्नु न्यायोचित लागेन् । राज्यको सम्पती भएको ठाउँमा बिषादीको प्रयोगको बारेमा थाहा नहुनु तर्कसंगत छैन् ।’ शर्माले भने ‘ बिषादी भण्डारमा शिल गरेपछि यसको बारेमा बृहत छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ ।’
चिया विकास निगमले पटक पटक मजदुरलाई देखाउँदै समस्याबाट उम्कने गरेको छ । छलफलमा सहभागित मजदुर प्रतिनिधि नवर्दा निरौलाले चिया बगानमा बिषादीको प्रयोग गरेर रोगी बनाउने उद्धेश्य नभएको बताउँदै बगानमा प्रयोग भएको औषधीको बारेमा जानकारी नभएको बताइन् ।
निगम व्यवस्थापन पक्षका प्रतिनिधिहरुले आफुहरुले प्रयोग गर्दै आएको बिषादीले चिया टिपाईमा कुनै असर नहुने जिकिर गरेको छन् । यदपी निगमले प्रयोगमा ल्याएको बिषादी न्युनतम २१ दिनसम्म प्रभाव रहने गर्दछ । तर १५ दिन भन्द कम समयमा चिया टिपाई हुने भएकाले त्यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्ने गरेको छ । बगान आसपासका क्षेत्रमा क्यान्सरको जोखिम उच्च रहेको छ ।