इलाम । अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव वसन्तराज अर्यालले पदबाट राजिनामा दिएका छन् । आइतबार वसन्तले इमेल मार्फत अध्यक्ष कर्माछिरिङ्ग शेर्पालाई राजिनामा पत्र पठाएका हुन् । उनले गत वर्षको माघ २६ गते सम्पन्न एन्फा साधारणसभाले मनोनित पदहरु खारेज गरेकोले पदमा रहि काम गर्न नैतिक संकट उत्पन्न भएकोले राजिनामा दिएको जिकिर गरेका छन् ।
उनले नेपाली राष्ट्रिय टोलिका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पछिल्लो आपत्तिजनक अभिब्यक्ति र स्वभाव नेपाली खेलाडीमाथिको अवमुल्यनका साथै भद्दा मजाक र टिप्पणीबाहेक अन्य केही नरहेको भन्दै आपत्ति समेत जनाएका छन् । यस्तै अर्यालले अल्मुताइरी र उपाध्यक्ष पंकजविक्रम नेम्वाङ्गबिचको समस्या सामान्य रहेको र समाधान संस्थाभित्रबाटै नखोजि अन्यत्र लगिएको प्रति आपत्ति समेत जनाएका छन् ।
उनले शेर्पालाई अध्यक्षको पदमा बसेर एन्फाभित्रका कुरा बाहिर लग्नु एन्फाको कार्यक्षेत्रमाथि गम्भिर प्रश्न उठाउने कार्य गरेको आरोप लगाएका छन् । अर्याललाई एन्फा कार्यसमितिले अध्यक्षलाई दिएको विशेषाधिकार मार्फत शेर्पाले अर्याललाई सहायक महासचिवमा नियुक्त गरेका थिए । अर्याल शेर्पाको विश्वासपात्रको रुपमा रहँदै आएका थिए ।
