इलाम : इलाम-हङकङ समाजले माङ्सेवुङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । हङकङमा बस्ने इलामबासीहरुले माङ्सेवुङका लागि २० थान थर्मलगन र २० थान अक्सिमिटर गाउँपालिकाकी उपाध्यक्ष सुनिता सुब्बालाई हस्तान्तरण गरेका हुन् ।
कोरोना महामारीबाट संक्रमित हुनेहरुको उपचारमा सहयोग पुर्याउने उदेश्यले इलाम-हङकङ समाजले उक्त स्वास्थ्य सामाग्री वितरण गरेको समाजका पुर्व सचिव शिशिर राईले बताए । दमकमा भएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष सुब्बा, भूमी सम्वन्धी समस्या समाधान आयोग इलामका सदस्य हेमन्त राई तथा इलाम-हङकङ समाजका पुर्व सचिव शिशिर राई, सल्लाहकार महेन्द्र राई लगायतको उपस्थिती रहेको थियो ।
कोरोना संक्रमितको उपचारमा यस स्वास्थ्य सामाग्रीले थप सहजता हुने भन्दै समाजलाई गाउँपालिका उपाध्यक्ष सुब्बाले धन्यवाद दिइन् । महामारीको यो परिस्थितिमा स्वास्थ्य सामाग्रीहरु पर्याप्त नभईरहेको अवस्थामा यसले केही राहत मिल्ने उनको भनाई थियो ।
कोरोना महामारीबाट संक्रमित हुनेहरुको उपचारमा सहयोग पुर्याउन इलाम-हङकङ समाजले इलामका १० वटै स्थानिय तहहरुमा स्वास्थ्य सामाग्री वितरण गरिरहेको छ । समाजका सल्लाहकार महेन्द्र राईका अनुसार हङकङमा रहेका इलामेलीहरुबाट संकलन गरिएको तीन लाख रुपैयाबाट स्वास्थ्य सामाग्रीहरु खरिद गरी इलामका स्थानिय तहहरुमा थर्मलगन र अक्सिमिटर २०/२० थानका दरले वितरण गरिदैछ ।