इलाम । प्रदेश १ की सामाजिक विकासमन्त्री उषकला राईले इलामलाई स्वास्थ्यको हब बनाउन सकिन्छ भन्ने विश्वास रहेको बताइन् । इलाम अस्पताल निरिक्षणका क्रममा सरोकारवालाहरुको जिज्ञासालाई सम्बोधन गर्दै पुर्वी पहाडको सवैभन्दा सुविधा सम्पन्न अस्पताल भएको कारण इलामलाई स्वास्थ्यको हब बनाउन सकिने बताएकी हुन् । निरिक्षण पछि मन्त्री राईले प्रदेश एकले स्वास्थ्य क्षेत्रमा चालू आर्थिक वर्ष देखि केही नयाँ कार्यक्रम शुरु गर्न लागेको बताइन् ।
प्रदेशका सबै नागरिकलाई स्वास्थ्य पहुँचमा पु¥याउन स्वास्थ्य कोष सञ्चालनमा ल्याउन लागेका उनले बताएकी छन् । ३० लाख रुपियाँ छुट्याइएको कोषमा प्रत्येक नागरिकले कम्तिमा दश रुपियाँ जम्मा गर्नुपर्ने उनले जनाइन् । ‘यस कोषबाट करोडौं रुपियाँ जम्मा हुन्छ र गरिब नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न सकिने छ । प्रदेश एकका ४५ लाख नागरिकले कम्तिमा दश रुपियाँ मात्रै जम्मा गर्नै हो भने हामी लक्ष्यमा पुग्छौं ।’
मन्त्री राईले भनिन् ‘हामीले यसलाई एउटा एप्स मार्फत अगाडि ल्याउने छौं ।’ राईका प्रदेश सरकारले एम्बुलेन्सहरुलाई पनि एक द्धार प्रणालीबाट सञ्चालन गर्ने तयारी गरेको छ । इलाम अस्पताल निरीक्षणः सेवा विस्तार सम्बन्धी जानकारी लिँदै राईले हिमाली, पहाडी तथा तराई जिल्लामा जाने डाक्टरहरुलाई अतिरिक्त सुविधा थप गर्ने निर्णय गरेको बताएकी छन् । प्रदेश सरकारले हिमाली जिल्लामा जाने डाक्टरलाई ३०० प्रतिशत, पहाडी जिल्लामा डाक्टरलाई २५० प्रतिशत र तराईका जिल्लामा जाने डाक्टरलाई २०० प्रतिशत अतिरिक्त सुविधा थप गर्ने प्रदेश सरकारले निर्णय गरेको जनाएकी हुन् ।
मन्त्री राई सँगै अस्पतालको निरिक्षणमा आइपुगेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री राम रानाले इलाम अस्पताललाई दरबन्दी अनुसारको जनशक्ति र आवश्यक उपकरण व्यवस्था गरेर पूर्ण क्षमतामा चलाउन सक्दा ठूलो सफलता हुने बताए । ‘अस्पताललाई के कुरा आवश्यक छ, त्यो बुझेर मात्र काम गर्नुपर्ने रहेछ । नत्र सामग्री थन्क्याउँदा मात्र अस्पताल डम्पिङ साइड बन्ने सम्भावना बढी देखियो ।’ मन्त्री रानाले भने ‘तर, इलाम जनसंख्याको हिसाबले भने १०० वेड क्षमताको अस्पताल माग गर्न सक्ने जिल्ला हो । अहिलेलाई भएकै ५० वेडलाई पूर्ण क्षमतामा चलाउन उचित छ ।’
मन्त्रीहरुको निरीक्षण पछि इलाम अस्पतालको अवस्था र सञ्चालनका विषयमा अस्पतालका प्रमुख डाक्टर प्रभु साहले जानकारी गराएका थिए । डाक्टर साहले थोरै जनशक्तिले काम गर्नुपर्दा समस्या भएको बताए । ५८ जनाको दरबन्दी रहेको अस्पतालमा २७ जना कर्मचारीहरु कार्यरत र दश जना करारमा कार्यरत रहेको डाक्टर साहले जानकारी दिए । ‘विषेशज्ञ डाक्टरहरु पनि छैनन् । अहिले कोभिडको अवस्थामा संक्रमित स्वास्थ्यकर्मीहरुले दश दिन भन्दा बढी आराम गर्न पाएका छैनन् ।’
डाक्टर साहले भने ‘प्रदेश सरकारले व्यवस्था गर्नु प¥यो नत्र करारमा स्वास्थ्यकर्मी राख्न स्वीकृत दिनुपर्ने अवस्था छ । होइन भने ५० वेडलाई सञ्चालन गर्न कठिनाइ छ ।’ डाक्टर साहका अनुसार अस्पतालले यो वर्ष आपीडिमा ४० हजारलाई सेवा दिएको छ । विभिन्न परिक्षणहरु गरि चार लाख परिक्षण गरिएको, आठ हजार जति भिडियो एक्स्रे सेवा प्रदान गरिएको साहले बताए । ‘जनशक्ति थप नभए ५० वेड चलाउन समस्या छ । करारमा भएपनि डाक्टरहरु नियुक्ति गर्न स्वीकृति प्रदान गर्नुपर्छ ।’ उनले भने
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख वृजकुमार दासले जिल्लाको कोभिड संक्रमणको अवस्थाका विषयमा तथ्याकं प्रस्तुत गरेका थिए । निरिक्षणमा आएका मन्त्रीहरु समक्ष नेकपा एमालेका नरेन्द्रनाथ भट्टराई, नेकपा माओवादीका प्रकाश परियार, जनता समाजवादीका वखतबहादुर आङ्देम्बे, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लब भट्टराई, उद्योग वाणिज्य संघ इलामका अध्यक्ष इश्वर चिपालु लगायतले इलाम अस्पतालका विषयमा सुझाव दिएका थिए ।