Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

झापामा साउनदेखि निषेधाज्ञा थप कडा गरिने !

झापामा साउनदेखि निषेधाज्ञा थप कडा गरिने !

  • सन्देश सम्वाददाता
  • आइतबार, असार २७ २०७८


झापामा साउनदेखि निषेधाज्ञा थप कडा गरिने !

झापा । निषेधाज्ञा खुकुलो बनाएसँगै झापामा कोरोना संक्रमण र मृत्यु दर बढ्न थालेपछि चिन्ता थपिएको छ । निषेधाज्ञा खुकुलो बनाएकै कारण संक्रमण दर बढेको पाइएकोले अब निषेधाज्ञाका बिषयमा पुनर्विचार गर्नुपर्ने माग उठ्न थालेको छ । निषेधाज्ञा खुकुलो बनाएयता संक्रमण बढेपछि प्रहरी प्रशासनलाई मुख्य चिन्ता थपिएको हो ।

निषेधाज्ञामा ढिलाई गरेकै कारण संक्रमण बढ्दा त्यसको जिम्मेवारी लिनुपर्ने भएपछि प्रहरी प्रशासनलाई तनाव भएको हो । निषेधाज्ञामा कडाई नगरिँदा कोरोना संक्रमण र मृत्यु दर बढेपछि चिन्ताको बिषय बनेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।‘संक्रमण बढ्दै जाँदा तनाव थपिएको छ’, उनले भने, ‘अब के गर्ने भनेर सोच्ने बेला भएको छ ।’ जिल्ला प्रशासन कार्यालयले असार ३१ मसान्तसम्म निषेधाज्ञालाई खुकुलो बनाएको छ । त्यसपछि निषेधाज्ञालाई कसरी लागू गर्ने भन्ने विषयमा सोच्ने बेला आएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।

‘अब कस्तो नतिजा आउँछ’, उनले भने, ‘त्यो हेरेर हामी निर्णय गर्छौं ।’ यही दरमा संक्रमण दर बढ्दै गएमा आगामी साउन महिनादेखि निषेधाज्ञामा फेरि कडाई गरिने उनले संकेत गरे । काठमाडौं उपत्यका र छिमेकी जिल्ला मोरङ, सुनसरीलाई हेरेर आफूहरुले पनि निषेधाज्ञालाई खुकुलो बनाएको उनले जानकारी दिए । खुकुलो निषेधाज्ञाका कारण संक्रमण बढेपछि प्रहरी इकाइहरुसँग समन्वय गरेर अनुगमनलाई तिब्रता दिइएको प्रजिअ तिमिल्सिनाको भनाइ छ । ‘हामीले अनुगमनलाई तिब्रता दिएका छौं’, उनले भने, ‘यसबाट पार लागेन भने निषेधाज्ञामा कडाइ हुन्छ ।’

झापामा जति निषेधाज्ञा खुकुलो बनाइँदैछ, त्यति धेरै नै कोरोना संक्रमित थपिदै गएका छन् । निषेधाज्ञा खुकुलो बनाएयताको तथ्यांकले कोरोना संक्रमण र मृत्यु दर बढेको देखाएको हो । असार १४ गतेयता जिल्ला प्रशासन कार्यालयले पसल, बजार र यातायात संचालनमा अनुमति दिएसँगै मानिसको भीडभाड बढ्न गई संक्रमण र मृत्यु दर फेरि अनियन्त्रित बन्न थालेको छ ।असार १४ देखि २६ गतेसम्मको तथ्याँकलाई जोड्ने हो भने झापामा कोरोना संक्रमणबाट १३ दिनमा ३० जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै १ हजार ९५९ जना संक्रमित थपिएका छन् । प्रत्येक दिनको आँकडालाई हेर्ने हो भने संक्रमितको प्रत्येक दिन मृत्यु हुने गरेको छ भने संक्रमित दर तेहोरो सँख्यामा रहेको छ ।असार १४ गते २ मृत्यु १८६ संक्रमित, १५ गते ३ मृत्यु १४९ संक्रमित, १६ गते ५ मृत्यु १७७ संक्रमित, १७ गते १७८ संक्रमित, १८ गते १ मृत्यु ११८ संक्रमित, १९ गते १ मृत्यु ५१ संक्रमित, २० गते २ मृत्यु १३२ संक्रमित, २१ गते २ मृत्यु २२९ संक्रमित, २२ गते ३ मृत्यु ११७ संक्रमित, २३ गते ४ मृत्यु २५५ संक्रमित र असार २४ गते ३ मृत्यु १३२ जना संक्रमित भएका छन् ।

त्यस्तै असार २५ गते ३ मृत्यु १७८ संक्रमित र असार २६ गते एक मृत्यु ५७ संक्रमित थपिएका छन् ।यसरी हेर्दा निषेधाज्ञा खुकुलो पारेसँगै संक्रमण र मृत्यु दर बढ्न थालेको हो । कोरोना संक्रमणबाट झापामा ३७५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १७ हजार ५७७ जना संक्रमित भएका छन् । त्यसमध्ये हाल २ हजार २३८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

संक्रमितमध्ये १३ हजार ४५ जना निको भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । देशको बढी कोरोना संक्रमित नौ जिल्लामा झापा पनि परेको छ । पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई सरकारले संवेदनशील मानेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार