इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारीले फ्रेन्चाइज फुटबल क्लब चितवन एफसीबाट प्राप्त पारिश्रमिक खेलाडीलाई हस्तान्तरण गरेका छन्। नेपाल सुपर लिगमा चितवन एफसीको म्यानेजर बनेका अधिकारीले क्लबबाट प्राप्त सम्पूर्ण पारिश्रमिक महिला लिगको दौरान घाइते भएपछि मैदानबाहिर रहेका तीन महिला फुटबलरलाई हस्तान्तरण गरेका हुन्। उनले राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी, हिरा भुजेल र समिक्षा घिमिरेलाई रकम दिने घोषणा गरेका थिए।
प्रतिबद्धता अनुसार अधिकारीले प्राप्त रकम आफ्ना प्रतिनिधि उत्सब लुइटेल मार्फत काठमाडौंमा रहेका खेलाडीलाई शुक्रबार हस्तान्तरण गरे। तीनजना महिला फुटबलरमा हिरा भुजेलको चोटको सफल शल्यक्रिया भएको छ भने सावित्रा उपचारका लागि शनिबार कतार प्रस्थान गर्दैछिन्। एन्फाले सावित्राको उपचारका लागि कतार फुटबल संघसँग समन्व्य गरी व्यवस्था मिलाएको हो। सोहीअनुसार सावित्राको चोटको उपचार कतारको सुविधा सम्पन्न अस्पतालमा हुन लागेको हो।
सावित्रा कतार उड्नुअघि अधिकारीले आफूले क्लबबाट प्राप्त गरेको रकम हस्तान्तरण गरेका हुन्। ‘लकडाउनका कारण ढिला गरी हस्तान्तर भयो,’ अधिकारीले भने, ‘सावित्रा शनिबारनै कतार जाने कार्यक्रम छ। सोही कारण अघिल्लो दिननै खेलाडीलाई रकम हस्तान्तरण गरेको हुँ।’ उनले चोटले थलिएका खेलाडीलाई हौसला प्रदान गर्न र फुटबलसंग सम्बन्धित सबैलाई सहयोग गर्न प्रेरणा मिलोस् भनेर खेलाडीलाई रकम हस्तान्तरण गरेको बताए।
अधिकारी स्वास्थ्य क्षेत्रमा पनि आबद्ध छन्। उनी फिजियोथेरापीसहितको सेवाका लागि प्रसिद्ध स्पार्क हस्पिटल सञ्चालन गर्छन्। ‘हाम्रो पहलकदमीले खेलाडीलाई थोरै भएपनि सहयोग हुन्छ,’ उनले भने, ‘उपचारको समस्याबाट कुनै पनि खेलाडी खेल जिवनबाट टाढा नहोस् भन्ने मान्यता राख्छु।’ अधिकारी विराटनगरस्थित विराट सांग्रिला स्पोर्टिङ क्लबका अध्यक्ष हुन्।