इलाम । फेसबुक अभियान मार्फत रकम संकलन गरेर एक साता देखि उपचार बापतको शुल्क बुझाउन नसक्दा झापाको विर्तासिटी अस्पतालमा बस्न बाध्य इलामको सूर्योदय नगरपालिका–९ का सरोज गदाल घर ल्याइएको छ । गत बैशाख २५ गते कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका गदाल उपचार शुल्क बुझाउन नसक्दा अस्पतालमा बस्न बाध्य थिए ।
इलामका संचारकर्मी दिनेश महतको पहलमा सुरु भएको ‘सरोज गदाल घर फर्काउ अभियान’ मार्फत संकलन भएको १ लाख ४५ हजार रुपैया बुझाएर आज गदाल अस्पतालबाट घर आएका हुन् । अभियानको क्रममा १ लाख ६८ हजार रुपैया संकलन भएको महतले जानकारी दिए ।
बचत भएको २३ हजार रुपैया आर्थिक अवस्था कमजोर भएकाहरुलाई आगामी दिनमा कोष निर्माण गरी सहयोग गर्ने योजना रहेको महतले जानकारी दिए । नेपाली कांग्रेस नेता एबम इलामका समाजसेवी डम्बर खड्काले आफ्ना सहयोगीलाई अस्पताल नै पठाएर गदाललाई घरसम्म ल्याउने व्यवस्था गरेका छन् ।
उनले तत्काल डिस्चार्ज गर्न अपुग रहेको १५ हजार रुपैया रकम समेत अभियानलाई दिएका छन् । डिस्चार्जपछि गदाललाई घर ल्याइएको र घरका अन्य परिवारका सदस्यहरुको समेत एन्टिजेन परिक्षण रिर्पोट नेगेटिभ आएको जनाइएको छ ।