नयाँबजार । माईजोगमाई गाउँपालिकाको केन्द्र रहेको नयाँबजारबाट प्याङ पञ्चमि हुँदै सन्दकुरको जमुना जोड्ने सडक स्तरउन्ती शुरु भएको छ । जिल्ला विकास समिति र स्थानीयबासीको सक्रियतामा ट्रयाक खनिएको सडकको माईजोगमाई गाउँपालिकाको डोजरबाट स्तरउन्नती शुरु भएको हो ।
माईजोगमाई गाउँपालिकाको महत्वको सडक नयाँबजार तारेभिर प्याङ इङ्ला सडक १३ किलोमिटर रहेको छ । सडक स्तरउन्नतीका काम चालु आर्थिक वर्षमा सक्नेगरि काम शुरु भएको गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए ।

सूर्योदय नगरपालिकाको फिक्कल माईजोगमाई गाउँपालिकाको केन्द्र रहेको नयाँबजार हुँदै प्याङ सन्दकपूर गाउँपालिकाको केन्द्र रहेको देउराली जोडिएको सडक रिङरोडको रुपमा जनप्रतिनिधिहरुले अघि सारेका छन् । यो सडकको २०४८ सालबाट ट्रयाक खोलिएको माईजोगमाई ६ का वडाध्यक्ष भवानीप्रसाद लिङ्दमले बताए ।
सडकको प्याङ र नयाँबजार खण्डमा निर्माणको काम गरिने छ । सडक क्षेत्रमा सामुदायीक वन पर्ने भएकाले जिल्ला वन कार्यालय मार्फत समन्वय हुँदै आएको माईजोगमाई गाउँपालिका योजना शाखा प्रमुख विरध्वज लिम्बुले बताए ।