इलाम । नेपाल टेलिकमले सडकको नालामा फाइबर बिछ्याउने काममा लापरबाहि गर्दा झापादेखि पहाडी जिल्ला जोड्ने मेची राजमार्ग क्षतिग्रस्त भएको छ । फाइबर बिछ्याउन सडकको नाला खनेर छोड्ने गरेका कारण वर्षातले गर्दा राजमार्ग क्षति पुगेको हो ।
नेपाल टेलिकम र सडक विभागको संझौता अनुसार फाइबर बिछ्याउने काम अघिल्लो आर्थिक वर्षमा शुरु भएको थियो । फाइबर बिछ्याउने निर्माण कम्पनीले आफुखुशी नाली खन्ने र खनिएको नाली अलपत्र अवस्थामा छोड्दा सडकको नालाको वालमा क्षति पुग्नुका साथै पानी सिपेज भएर सडकको बिचमा धाँजा फाट्ने गरेको छ । अघिल्लो आर्थिक वर्षमा फाइबर निर्माण कम्पनीले झापाको सीमा क्षेत्र चिहानडाडादेखि इलामको माइखोला सडक खण्डमा नाला खनेर अलपत्र अवस्थामा छोडेको थियो ।
लकडाउनका कारण काम छोडिएको भएपनि लकडाउन हटेको ८ महिना बितिसक्दा पनि अझै काम पुरा नभएको सडक डिभिजन इलामका प्रमुख अविमान मुल्मीले बताए । सडक डिभिजन मार्फत समन्वयमा काम गर्ने संझौता भएपनि निर्माण कम्पनीले अहिले आफुखुशि काम गर्दा सडकको दुराअवस्थामा पुगेको हो । गत आर्थिक वर्षमा सडकको नाली खनिएर अलपत्र छोड्दा सडक क्षतिग्रस्त भएपछि समन्वय गरि निर्माण गर्न २०७७ पुष २८ मा नेपाल टेलिकम, फाइबर निर्माण कम्पनी, सडक डिभिजन, रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालय इलामका प्रतिनिधिबिचको छलफलमा फाइबर बिछ्याउने काम गर्दा सडक डिभिजनसँग समन्वयमा काम गर्ने लिखित सहमति भएको थियो ।
फाइबर बिछ्याउँदा भएका कामको अनुगमन गर्ने, नाला खनिएर अलपत्र छोड्दा भएको क्षति नेपाल टेलिकमले निर्माण गर्ने र काम गर्दा सडक डिभिजन इलामसँग समन्वय गरि काम गर्ने सहमति भएपनि फाइबर निर्माण पक्ष नेपाल टेलिकमले सहमति अनुसारको काम नगरेको सडक डिभिजन इलामका प्रमुख अविमान मूल्मीले बताए । रोङ गाउँपालिकाको छलफलमा मेचीराजमार्गको चिहानडाँडा माईखोला खण्डमा खनिएर अलपत्र पारिएको नाला चैत्र महिना भित्र सक्ने निर्माण पक्षले प्रतिवद्धता जनाएको थियो ।
सो खण्डको फाइबर बिछ्याउने काम सहमति अनुसार सम्पन्न नभएको र वर्षात शुरु हुने पुर्वअवस्थामा ठाउँठाउँ पुनः खन्न थालिएको छ । ‘सडकको नालि खन्ने काम स्थानीय मजदूरले गरिरहेका छन्–सडक डिभिजन इलामका प्रमुख अभिमन मूल्मीले भने–‘निर्माण कम्पनी र टेलिकमको आधिकारीक प्रतिनिधि फिल्डमा भेटिदैनन्, अघिल्लो वर्षातमा नालाको पक्कि ढलान उक्काएर अलपत्र छोड्दा वर्षातमा सडकको अवस्था नाजुक थियो,अहिले पनि त्यहि हबिगत हुन्छ भन्ने चिन्ता छ । ‘ठाउँठाउँमा पुनः दुई चार जनाले नालि खनिएको भेटिन्छ उनले भने–‘ हामीले सडकको पुनःस्थापनका काम शुरु गरेको अवस्थामा नाला खनेर हाम्रो काममा नै बाधा पुगिरहेको छ ।’
अघिल्लो वर्ष नालीको पक्कि ढलान उक्काएर अलपत्र छोडेको र टेलिकमको फाइबर बिछ्याउने निर्माण कम्पनीले सहमति अनुसार काम नगरेको अवस्थामा यो वर्षतामा पनि पुरानो अवस्था दोहोरिन नदिन सडक डिभिजन इलामले काम रोक्न पटक–पटक पत्रचार गरेको छ । तर समन्वयका लागि समयमा सम्पर्कमा पनि नआउने र अटेर गरि सडकको नाला खन्ने काम रोकेको छैन । इलाम खण्डको चिहानडाँडा– माईखोला खण्ड अलपत्र अवस्थामै छ भने पुवाखोला–फिदिम खण्डमा नालिको पक्कि ढलान उक्काउने काम भइरहेको छ । पानि बग्ने नालाको पक्कि ढलान खनेर छोड्दा वर्षात हुँदा नालीको साइड वाल भत्किने र पानी सिपेज भएर सडकमा क्षति हुने गरेको छ ।
टेलिकम र फाइबर बिछ्याउने निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कमा नआएपछि सडक डिभिजनले जिल्ला प्रशासनसँग समन्वयको पहल गर्न २०७७ चैत्र २६ मा पत्राचार गरेको थियो र इलाम प्रशासनले उसैदिन नेपाल टेलिकमलाई पत्राचार गरेको थियो । पत्राचारको लिखित प्रतिउत्तर दिएपनि पत्राचारमा उल्लेख बमोजिमको काम फिल्डमा नभएपछि हामीले आयोजनाका आधिकारीक प्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधि बोलाएर सडक डिभिजनको समन्वयमा अनुगमन गर्ने भनेका छौँ–प्रमुख जिल्ला अधिकारी ध्रुबबहादूर खड्काले भने–‘सडक डिभिजनसँग समन्वय गरि अहिलेसम्म भत्काएिका स्थानमा फाइबर बिछ्याउने काम गरि पक्कि ढलानको काम सक्न निर्माण कम्पनी र टेलीकमका प्रतिनिधिलाई निर्देशन समेत दिएका छौँ ।’