सन्दकपूर । उत्तरी इलामका गाउँलाई सदरमुकाम जोड्ने सडकमा पर्ने गिताङ्ग खोलाको पुल निर्माणको काम सम्पन्न भएको छ । ५ वर्ष अघि निर्माणको संझौता भएपनि ठेकदारको लापरवाहिका कारण अलपत्र अवस्थामा रहेको पुल निर्माणको काम सक्ने सडक डिभिजन इलामले निर्माण कम्पनीमाथि नियमित पत्राचार गरेपछि निर्माण सम्पन्न भएको हो ।

सदरमुकाम बरबोटे सन्दकपूर सडकमा पर्ने पुल आर्थिक वर्ष ०७३÷ ०७४ मा निर्माणको संझौता भएको थियो । निर्माणको म्याद गुज्रिएको अवस्थामा रहेको पुलको काम चाँडो सम्पन्न गर्ने सडक डिभिजन इलामबाट निर्माण पक्षलाई नियमित ताकेता गरेपछि अहिले निर्माणको काम सकिएको हो ।

सन्दकपुर गाउँपालिका २ मा गिताङ्ग खोलाको पुल निर्माण सम्पन्न भइ अहिले यातायातका साधन पनि संचालन हुन थालेको सडक डिभिजन इलामका प्रमुख अभिवन मुल्मीले बताए । इलाम सदरमुकाम सन्दकपुर हुँदै पाँचथरको च्याङ्थापु सडकमा पर्ने खोलाको पुल निर्माणले वर्षातमा सन्दकपूर गाउँपालिकाको २ र ४ का बासिन्दालाई आवतजावतमा सहज भएको सन्दकपूर गाउँपालिका अध्यक्ष उदय राईले बताए ।

अलपत्र पुल निर्माण सम्पन्न नगरे ठेक्का तोड्ने तयारीको पत्र सडक डिभिजन इलामले निर्माण कम्पनीलाई पठाएपछि ठेकदारले नियमित रुपमा काम गरेको थियो । गिताङ्ग खोलामा पुल निर्माण गर्न नागाजुङ्ग कम्पनीले ३ करोड ५७ लाखमा संझौता भएको सडक डिभिजन इलामका लेखा अधिकृत फिरोज आलमले बताए ।

पुल निर्माण सम्पन्न भएपछि माईमझुवाबासी प्रत्यक्ष लाभान्वित भएको सन्दकपूर २ का वडाध्यक्ष गिरिराज खनालले बताए । यस्तै सडक डिभिजनको ताकेता पनि अलपत्र अवस्थामा रहेको राते खोलाको पुल पनि निर्माण शुरु भएको छ । सन्दकपूर २ मा पर्ने राते खोलाको पुल निर्माणका लागि आर्थिक वर्ष ०७२÷०७३ मा सिवाको बस्नेत निर्माण कम्पनीसँगै संझौता भएको थियो । चार करोड बढीमा संझौता भएको पुलको निर्माणको प्रगति ३० प्रतिशत मात्रै रहेको छ ।