इलाम । नेकपा एमाले जिल्ला समानन्तर कमिटी गठन गरेका माधव–झलनाथ समुहका नेताहरुलाई स्पष्टिकरण र कारवाहीकाे माग गरिएको छ । पार्टी हित विपरित कार्य गरेको भन्दै एमालेले जिल्ला अध्यक्ष भक्त केसीलाई स्पष्टिकरण तथा प्रदेश कमिटी सदस्य मणीकुमार लिम्बु र ध्रुव श्रेष्ठलाई कारवाहीको लागि सिफारिस गरिएको हाे ।
नेकपा ओली समुहको चैत्र २७ गतेको जिल्ला अध्यक्ष रामबहादुर मगरको अध्यक्षतामा बैठकबाट उनीहरुकाे बारेमा निर्णय गरेकाे थियो । एमाले जिल्ला सचिव महेश बस्नेतले प्रेस वक्तव्य जारी गर्दै स्पष्टिकरण र कारवाही सिफारिस बारे जानकारी गराएका छन् । वक्तव्यमा लेखिएको छ ‘ हाम्रो पाटी जिल्ला कमिटीका नेता भक्त केसीले नेकपा (एमाले) को विधानको अध्याय–७ को दफा १,२,३,४,५ र ७ बमोजिम पार्टी हित विपरितका कार्यहरु गरेका हुँदा सात दिनको समय दिएर वहाँलाई स्पष्टिकरण माग गर्ने निर्णय गरिएको छ ।’
विधान विपरित कार्यमा नेतृत्वदायी भुमिका निर्वाह गरेको भन्दै प्रदेश कमिटी सदस्यहरु मणीकुमार लिम्बु र ध्रुब श्रेष्ठलाई पार्टी विधान बमोजिम कार्वाही प्रक्रिया अघि बढाउन प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय भएको वक्तव्यमा भनिएको छ । त्यसैगरी विभिन्न राजनितिक दल परित्याग गरी एमाले प्रवेश गरेकाहरुलाई जिल्ला सचिवालय सदस्य, जिल्ला सदस्यको जिम्मेवारी दिइएको छ ।
माधव–झलनाथ समुहले गत चैत्र २५ गते इलाममा अगुवा कार्यकर्ता भेला एवम ३०१ सदस्यीय एमाले जिल्ला कमिटी घोषणा गरेको थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्य लिम्बु र श्रेष्ठसंगै पुर्व सांसद शुकन्तला लेप्चा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।