इलाम : पाकिस्तान फुटबलमा फिफाबाट फेरि प्रतिबन्ध लाग्ने खतरा बढेको छ। सैयद असफका हुसेन शाहको निर्वाचित पाकिस्तान फुटबल महासंघ (पिएफएफ) समितिले मुख्य कार्यालय शनिबार कब्जा गरेपछि प्रतिबन्धको खतरा बढेको हो। फिफाले स्थापित गरेको मलिक हारोन नेतृत्वको नर्मलाइजेसन कमिटीलाई हटाउँदै शाहले पिएफएफ कब्जा गरेको हो।
नर्मलाइजेसन कमिटी (एनसी) ले नयाँ निर्वाचन गराउनुको साटो आफैं प्रतियोगिता सञ्चालन गरेपछि निर्वाचित समितिले मुख्यालय कब्जा गरेको जनाइएको छ। पिएफएफ कार्यालमाथि असफका शाह र उनको समूहले हमला गरे,’ पिएफएफले एक विज्ञप्ति जारी गर्दै भनेको छ। ‘आक्रमणकर्ताहरूसँग सरदार नवीन हैदर खान पनि उपस्थित थिए। उनीहरूबाट कर्मचारीहरूलाई शारीरिक उत्पीडन गरिएको थियो र बन्धक बनाइएको थियो।’
नर्मलाइजेसन कमिटीका अध्यक्ष मलिक हारोनले यो डरलाग्दो कुरा भएको बताएका छन्। ‘उनीहरूले दिउँसो १ः३० बजे मेरो कोठामा आक्रमण गरे र चिच्याउन थाले। मैले उनीहरूलाई दुई मिनेट दिनुहोस् भनेर भनें। मैले तिनीहरूलाई सभागारमा बसेर कुरा गरौं भनें। सैयद असफका हुसेन शाहको नेतृत्वमा उनीहरूले मलाई र कार्यलय कब्जा गर्ने निर्णय गरेको कुरा बताए,’ हारोनले भने।
नेपाली फुटबलर सम्मिलित नेसनल वुमन्स् च्याम्पियनसिप रद्द
तर शाहले हारोनको बयान झुटो भएको बताए। ‘हामीले न मलिक हारोनलाई हैरानी दियौं न कोही पिएफएफ मुख्यालयमा थिएँ,’ शाहले भने, ‘हामीले हारोनलाई सम्मान दियौं। हामी उनीलाई भेट्न गयौं र पिएफएफ कंग्रेस र कार्य समितिबाट जनादेश फिर्ता पाएको पत्र दियौं। मैले उनलाई भनें कि हामीले सेप्टेम्बर २०१९ मा नर्मलाइजेसन कमिटीलाई विश्वासका साथ कार्यभार सुम्पेका थियौं। यसले पिएफएफको चुनाव निष्पक्ष र पारदर्शी ढंगले फिफाको जनादेशअनुसार सम्पन्न गर्ने विश्वास थियो। तर यसले विगत १८ महिनामा केही गरेन। न त हम्जा (पूर्वकंग्रेस प्रमुख) ले १५ महिनामा गर्न सके, न हारोनले पछिल्लो ४ महिनामा।’
सेप्टेम्बर २०१९ मा फिफाले जुन २०२० सम्म पिएफएफको चुनाव गर्ने जनादेश दिएर हम्जा खानको नेतृत्वमा कांग्रेस स्थापना गरेको थियो। तर यो जनादेश पूरा भएन। फिफाले त्यसपछि डिसेम्बर ३१, २०२० सम्मको लागि म्याद दिएको थियो तर फेरि चुनावको दिशामा केही गर्न सकेन। यस बीच हम्जाले राजीनामा गरे। फिफाले एनसीलाई पुनः संयोजित गर्यो र जनवरीमा हारोनलाई अध्यक्षका रूपमा ल्यायो। केही दिनअघि उनले सञ्चारमाध्यमलाई अप्रिल दोस्रो हप्तासम्म चुनावी रोडम्याप खोलिने बताएका थिए।
शुक्रबार शाह नेतृत्वको समितिले कार्यसमिति र कंग्रेस गरेको थियो। त्यो भेलाले नर्मलाइजसेन कमिटीको कामप्रति असुन्तुष्टि जनाएको थियो। शाह र हारोन नेतृत्वमा रहेको टोलीबीच गत महिनाबाट निर्वाचन ढिलाइका विषयलाई लिएर तनाव भइरहेको थियो।
पाकिस्तान फुटबलमा सरकारी हस्तक्षेपका कारण यसअघि समेत प्रतिबन्धमा परेको थियो। सेप्टेम्बर २०१७ बाट फिफाले पाकिस्तानलाई ६ महिना प्रतिबन्ध गरेको थियो। सो समय पाकिस्तानी फुटबलमा सरकारी हस्तक्षेप तथा आर्थिक हिनामिनालगायत कुरालाई कारण देखाउँदै फिफाले पाकिस्तानमाथि अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाउन नपाउने गरी प्रतिबन्ध लगाएको थियो। शाह र हारोनको विवादले पुनः अर्को निलम्बन निम्त्याउने खतरा बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
अन्तरद्वन्द्वले महिला फुटबल अनिश्चित
पिएफएफको अन्तरद्वन्द्वले नेपाली महिला खेलाडी सम्मिलित नेसनल वुमन्स फुटबल च्याम्पियनसिप अनिश्चित बनेको छ। शनिबार मध्यरातमा पिएफएफले आफनो फेसबुक पेज र ट्विटरमा प्रतियोगिता रद्ध गरिएको सूचना जारी गरेको थियो। तर प्रतियोगिता रद्द हुनुको कारणबारे केही खुलाइएको थिएन।
प्रतियोगितामा भाग लिन देशका विभिन्न भागबाट र विदेशबाट समेत खेलाडीलाई यसले निराशा पैदा गरेको छ। ‘यो देशमा सबै महिला फुटबल खेलाडीका लागि अँध्यारो दिने हो। पाकिस्तानको फुटबल राजनितिका कारण फेरी पीडित छ,’ कराँची युनाइटेड फुटबल क्लबका प्रशिक्षक ताह अलीले भने, ‘यस खेलका वास्तविक सरोकारवालाहरू खेलाडी र प्रशिक्षक हुन्। तर हामी यस अवस्थामा कमजोर देखिन्छौं।’
If only we can complete this tournament r.n & not let all our hardwork, efforts & sacrifices go in vain. Months of training; resigned from 2 jobs right before tournament so I could stay here for a month. And nw this. DISAPPOINTED! @daniutus25 @PakistanFF @JAfridi10 @FootballPak https://t.co/VCoLl2FXb6
— Abiha Haider (@AbihaHaider05) March 27, 2021
टी–१० फ्रेन्चाइज क्लब पेसेवर जाल्मीका मालिक जावेद अफ्रिदीले ट्विटरमा पोष्ट गर्दै नेसनल वुमन्स लिग संचालन हुनुपर्ने बताए। उनले प्रतियोगिता संचालनका लागि कुनै पनि वित्तीय सहयोगका लागि आफू तयार रहेको बताए।
पाकिस्तान राष्ट्रिय टोलीकी मिडफिल्डर अविहा हैदरले अफ्रिदीको ट्विटलाई रिट्विट गदैै लेखिन्, ‘हामी यस प्रतियोगितालार्ई पूरा गर्न सक्छौं र हाम्रो सबै मिहिनेती प्रयास र त्यागहरू व्यर्थ जान नदिनुहोस्। प्रशिक्षणको महिना प्रतियोगिताको ठिक अगाडी २ वटा कामबाट राजीनामा गरे ता कि म एक महिनाका लागि यही बस्न सक्छु। र निराश छौं।’
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा नमीन ढकालले तयार पारेको समाचार)