सुर्योदय । थुप्रै प्रकारको नगदेवाली उत्पादन हुने इलाममा स्थानीय महिला र युवायुवतीले रोजगारी पाएपनि तथ्याङ्क यकिन छैन । सिजन अनुसार उत्पादन दिने चिया, अदुवा, अम्रिसो, अलैची लगायतका नगदेवालीका उद्योगहरु स्थापना गरि बजारीकरण गरेमा स्थानीयले १२ रै महिना रोजगारीका अवसर पाउने देखिन्छ ।
अलैची, अदुवा, अम्रिसो र चिया क्षेत्रमा महिलादेखि युवा विद्यार्थीले रोजगारी गर्दै आएका छन् । बिहान बेलुकी भान्छामा खट्ने महिला र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले अलैचीको ग्रेडिङको काम गर्दै आएका छन् ।
घरको धन्दा सकेर फुर्सद हुने महिलाले दिनभर अलैचीको पुछार काट्ने काम गर्दै आएका हुन् । व्यपारीले अलैचीको पुछार काटेको प्रतिकिलो १२ रुपैयाँ प्रदान गर्दै आएका छन् । बिहान प्लस टु र क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले अलैचीको पुछार काट्ने काम पनि गर्दै आएका छन् ।
ठुलो मात्रामा उत्पादन हुने नगदेवालीको संकलन र प्याकेजिङ गर्न स्थानीय स्तरमै रोजगारीका अवसर प्रशस्त भएपनि बजारीकरणका लागि अक्सन मार्केट आवश्यक रहेको सूर्योदय नगर उद्योग बाणिज्य संघका माहासचिव राजन प्रधानले बताए ।
इलाममा धेरै प्रकारका नगदेवाली उत्पादन हुने भएकाले सिजनअनुसार स्थानीय महिला र युवायुवतीले रोजगारी पाउँदै आएका छन् । अलैची भाद्रदेखि मंसिरसम्म, अदुवा बैशाखदेखि मंसिरसम्म अम्रिसो मंसिरदेखि चैत्रसम्म र चिया चैत्रदेखि अर्को वर्षको मंसिर महिनासम्म खरिदबिक्रि हुन्छ ।
सिजन अनुसार रोजगारीका अवसर फरक÷फरक भएकाले इलाममा उत्पादन हुने नगदेवालीबाट रोजगारी पाउनेको संख्या यकिन छैन । भारतीय बजारमा कच्चापदार्थका रुपमा निर्यात हुने धेरै नगदेवालीको स्थानीय स्तरमै गुणस्तर मापन र प्रशोधनको काम गर्न सके थप रोजगारीका अवसर सिर्जना हुने व्यवसायी मनोरथ अधिकारीले बताए ।
इलाममा चियाको सिजनमा हरियो पत्ति टिपाइ, प्याकेजिङ, प्रशोधन र ग्रेडिङ्गमा रोजगारीका अवसर पाइन्छ । त्यस्तै अम्रिसो र अदुवा उत्पादनको सिजनमा संकलन, लोड÷अनलोड र ग्रेडिङ्गमा स्थानीय युवाले काम गर्दै आएका छन् ।