इलाम । प्रेस संगठन इलामको दोश्रो जिल्ला भेला आज सम्पन्न भएको छ । संगठनका संयोजक रमेश पराजुलीको अध्यक्षतामा भएको भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामका अध्यक्ष भक्त केसीको प्रमुख आतिथ्यता तथा प्रेस संगठनका प्रदेश इन्चार्ज राजन केडी र प्रदेश संयोजक देबेन्द्र कार्कीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले पत्रकारको कलम प्रतिगमन र संविधान विरोधी कामको विरोधमा कमजोर बन्न नहुने बताए । उनले संविधानको रक्षाका निम्ति पत्रकारहरुले सदैब अग्रमोर्चामा रहेर काम गरेको बताउँदै आगामी दिनमा समेत बलियो रुपमा उपस्थिती जनाउनुपर्ने बताए ।
उनले आफुहरु नेकपाको संस्थापन पक्ष भएको दाबी गर्दै केही दिनभित्रमा आधिकारिता, पार्टीको चुनाव चिन्ह र झन्डा प्राप्त गर्नेमा आशवादी रहेको बताए । उनले प्रधानमन्त्रीको कदमका कारण देश संकटको दिशा तर्फ अघि बढ्दै गएकाले सबै जनताहरु जागरुक हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै विशेष अतिथि राजन केडीले प्रेस संगठन सदैव आम पत्रकारको हितमा आवाज उठाउन तयार रहेको बताए । देशको ठुलो संगठन भएको हिसाबले आम जनमानसको सवालमा प्रेस संगठन सदैव गम्भिर रहेको उनले बताए । कार्यक्रममा बोल्दै अर्का विशेष अतिथि प्रदेश संयोजक देवेन्द्र कार्कीले सबै प्रगतिशिल पत्रकारहरु एकै ठाउँमा गोलवद्ध भएर अघि बढ्नुपर्ने बताए । उनले आसन्न पत्रकार महासंघको चुनावका लागि प्रेस संगठनले सबैसंग सहमती र सहकार्यको वातावरण तयार पार्न कटिवद्ध रहेको धारणा राखे ।
कार्यक्रममा नेकपा इलामका कार्यालय सदस्य बिजय खम्बुले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मतलाई सधै अपमान गर्दै अघि बढेको बताए । उनले केही दिनभित्र नेकपाको चुनाव चिन्हको फैसला आएपछि ओली समुहको नेकपाको औचित्य नै समाप्त हुने अवस्था देखिएको बताए ।

प्रेस संगठनका प्रदेश सहसंयोजक मुक्ति पौडेलले ‘बा’ पत्रकारिता गर्नुकै औचित्य नरहेको बताए । उनले प्रधानमन्त्रीको पछाडी कुदेका बा पत्रकारहरु पथभ्रम भएकाले केही समयपछि सहि गतिमा आउनेमा विश्वस्त रहेको बताए । कार्यक्रममा प्रेस संगठन सुनसरी संयोजक अर्जुन शर्मा, नेकपा इलाम नगर कमिटी अध्यक्ष प्रवाश शर्मा, नेकपा कार्यालय सदस्य सोम शर्मा, प्रेस संगठन प्रदेश सदस्य राजकुमार दाहाल, राजेश पराजुली, अनेरास्ववियू इलामका संयोजक मानबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
बुद्धमाया सोङ्मीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव नमिन ढकालले गरेका थिए । संगठनको दोश्रो भेलापछि बसेको बैठकले आगामी पत्रकार महासंघको निर्वाचनको बिषयमा छलफल गरेको थियो । जिल्ला भेलाको अवसरमा संगठनको पुर्नगठन समेत गरिएको छ । संगठनले रिक्त रहेको सदस्य पदमा नयाँ सदस्यहरुको पदपुर्ती गरिएको हो । संगठनका संयोजक सहसंयोजक सचिव र नव गठित समितिका सदस्यहरुलाई प्रदेश संयोजक कार्कीले सपथ ग्रहण गराएका थिए ।