इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिडियाखानामा राख्नुपर्ने कम्युनिष्टको संज्ञा दिएका छन् । उनले प्रचण्ड–माधव समुहका नेतालाई चिडियाखानमा लग्नुपर्ने संज्ञा दिने ओलीका नेताहरु आफै त्यसको हकदार भएको बताए ।
‘ गरिबहरुलाई अहिले राजधानीको सडकमा भात खुवाउँदैछन मनकारीहरुले । यहाँ भात खुवाउन पाइदैन भनेर उनका हनुमानहरु लखेटदै मान्छेको बेइजत गरेर त्यहाँ भात खुवाउने हो भन्छन् यी कस्ता खालका कम्युनिष्ट हुन ? आश्चर्य लाग्छ चिडियाखानामा राखेर देखाउनुपर्ने कम्युनिष्ट, जावलाखेलको चिडियाखानमा राख्नुपर्ने चाहि केपी ओली ’ खनालले भने ‘ हिजो बादलले हामीलाई चिडियाखानमा लग्ने रे भन्दै थिए तर चिडियाखानमा लग्नुपर्ने बादल र केपी ओली । ’
गृह जिल्ला इलाममा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले नेकपा भित्र पसेको फोहोरको बाढीले सबैभन्दा पहिलो प्रधानमन्त्री ओलीलाई बगाएको बताए । ‘८ लाख पाटी सदस्य कतै चलायमान छैनन् कतै विधि विधानले बाधेको पनि छैन कुनै कामको जिम्मेवारी छैन अनि गतिहिन भएपछि घुनपुतली लाग्दैन फोहोर जम्मा हुँदैन ?’ खनालले भने ‘ पाटी भित्र त फोहोरको बाढी नै पसेको छ त्यो बाढीले सबैभन्दा पहिलो कसलाई बगायो भन्दा खड्ग प्रसाद ओली शर्मालाई बगायो । खड्ग प्रसाद शर्मा ओली हिलो पानीमा बग्दा बग्दै पुष ५ गते आइपुग्दा प्रतिक्रान्ति तत्वमा रुपान्तरित भए ।’

संविधान मार्फत मुलुक स्थायीत्व खोजिएको बताउँदै खनालले स्थायीत्वका निम्ति लोकतन्त्र अपरिहार्य रहेको उल्लेख गरे । उनले संघीयता, गणतन्त्र समावेशिता र राष्ट्रहितको कदम विरुद्ध लाग्न कार्यकर्तालाई निर्देशन दिए । उनले ओलीलाई पार्टीबाट हटाए पछि मात्र तत्कालीन माओवादीसँगको एकता प्रक्रिया अघि बढेको बताए । ओली सुरुदेखि नै पार्टी एकताको विपक्षमा रहेको भन्दै खनालले आफू प्रधानमन्त्री हुन मात्र ओलीले एकता स्वीकार गरेको दाबी गरे ।
पार्टी एक भए पछि पनि ओलीले गुटबन्दी गरेको, मन्त्रिपरिषद् विस्तार लगायत कुनै पनि काममा पार्टीमा छलफल नै नगरेको खनालले आरोप लगाए । ‘केपी ओलीले दक्षिण पन्थी अवसरवादको बाटो समाएकै कारणपार्टी विभाजनको अवस्थामा आइपुगेको छ,’ उनले भने, ‘ओलीलाई पार्टीबाट फ्याँके पछि पार्टी एकता सुरु भएको छ ।’ केपी ओलीको कित्तामा लाग्नेहरु नर्ककुण्डमा पुग्ने भन्दै खनालले ओलीले समाजवादको बाटो त्यागेको आरोप लगाए ।
‘सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रममा पनि समाजवादको ‘स’ पनि आएन,’ उनले भने, ‘समाजवादमा जाने सर्वस्वीकार्य प्रस्ताव संविधानमै उल्लेख भयो तर ओली नेतृत्वको सरकाले त्यसलाई सम्बोधन नै गरेन ।’ खनालले प्रधानमन्त्रीको संसद् विघटनको कदम गैरसंवैधानिक भएको भन्दै नागरिकले खबरदारी गरिरहनुपर्ने बताए ।

नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले ओली प्रवृतीको उदेश्य भनेको लोकतन्त्र र संविधान खारेज गर्ने रहेको भन्दै यसलाई बचाउन आन्दोलन गर्नुपर्ने बताएका छन् । ओलीले पार्टीको निती नियम नमानि एकलौटी आफू अघि बढेकाले केपि प्रवृतिबाट देशलाई बचाउनुपर्ने उनको धारणा थियो । पार्टीको संगठन संरचना कस्तो हुने, आर्थिक मौद्रिक नीति कस्तो हुने, उत्पादन शक्तिको विकास कस्तो हुने भन्नेमा बहस हुनुपर्ने शर्माले बताए । उनले अहिले आन्दोलन मात्रै प्रधान नभएकाले बैचारिक बहसमा समेत केन्द्रित हुनुपर्ने बताए ।
नेकपाका केन्द्रिय सदस्य एवम् प्रदेश १ का पूर्व अर्थमन्त्री इन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईले टोले गुन्डाको शैली अपनाएको आरोप लगाए । प्रशिक्षण कार्यक्रममा बोल्दै आङ्बोले कागजको टुक्रोमा लेखेको आधारमा पनि अविश्वासको प्रस्ताव दर्ता हुनुपर्नेमा संसद बैठकमा टोले गुन्डाको शैलीमा थर्काउने, धम्क्याउने जस्ता क्रियाकलापमा अघि बढेको बताए । उनले पञ्चायतको अन्त्य हुने बेलामा पञ्च ¥याली र राजा ज्ञानेन्द्रले सत्ता छाड्ने बेलामा देश दौडाह गरे जस्तो ओलीले ¥याली गरिरहेको बताए ।

गृहमन्त्री रामबहादुर थापा बादललाई इङिगत गर्दै उनले भने, ‘दिमागमा धेरै जोड दिएपछि मान्छेले आफुले बोलेको कुरा हेक्का रहदैन अहिले बादल कमरेडलाई पनि त्यस्तै भएको छ । उनले भने, ‘स्टेजमा बोल्नुपर्ने कुरा उहाँ आमसभामा बोल्दै हिड्नुहुन्छ तेश्रो जनआन्दोलन सुरु भयो भनेर ।’ उनले बादललाई स्थापित गराएर आजको अवस्थामा ल्याउनेलाई जेल कोच्छु भन्दै हिड्नु र प्रतिगमनलाई साथ दिनु गलत भएको बताए । १८ बर्षको सहकार्यमा पार्टी विभाजनदेखि एकतासम्म बादलको साथ रहँदा उनको हैसियतको बारेमा जानकारी भएको आङ्बोले बताए ।

नेकपाका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमणले आइ लभ यु ओली बा भनेर कम्युनिष्ट टिक्न नसक्ने बताए । उनले आगामी २८ गते हुने आमसभामा सक्रिय रुपमा सहभागिता जनाउन कार्यकर्ताहरुलाई आग्रह गरे । कार्यक्रममा बोल्दै पुर्व सांसद समेत रहेका प्रदेश कमिटी सदस्य मणी सुब्बाले रत्नकुमार बान्तवाको शहिद भुमिमा प्रतिगमनकारी र कम्युनिष्ट विरोधीहरु बढारिने चेतावनी दिए ।

उनले संसद पुर्नस्थापना हुनका साथै सूर्य चिन्ह प्रचण्ड–माधव समुहमा नै रहने भएकाले ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे । पुर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई लक्षित गर्दै २०४७ सालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएपनि आफैले लेखेको संविधानको पालना नगर्ने नेम्बाङ कम्युनिष्टको खोल आडेर हिड्नुको अर्थ नहुने बताए ।
https://www.facebook.com/sujan.timsina.12/videos/5430035187008315