फिक्कल । नेकपाको प्रचण्ड–माधव समूहले आह्वान गरेको बन्दको प्रभाव इलामको सूर्योदय नगरपालिकामा सामान्य मात्र देखिएको छ। लामो दुरीका सवारीसाधनहरु संचालन नभएपनि बजारहरु भने पुर्ववत अवस्थामा नै रहेका छन् । अप्रिय घटना हुन नदिनका लागि ठाउँ– ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ।

प्रचण्ड–माधव समुहले सांकेतिक विरोध स्वरुप अपराहन्न साढे १ बजेबाट करिब १५ मिनेट मेची राजमार्गको फिक्कल खण्डमा सवारीसाधन रोकेर कोणसभा गरेको थियो । कोणसभालाई नेकपा इलामका नेता प्रविन तिमसिनाले सम्बोधन गदैै २०७२ को संविधानलाई केपी सरकारले निर्जिव बनाउन खोजेका कारण आन्दोलन गर्नुपरेको बताए ।

उनले शहिदहरुको बलिदानबाट आएको संघीयता समावेशिताको सिद्धान्तलाई कुठाराघात गर्दै केपी ओली महाराजको श्रीपेच लगाउने दिशा तर्फ अग्रसर भएको आरोप लगाए । उनले रत्नपार्क र चोकमा बदम खादै बनाएको संविधान नभएको उल्लेख गर्दै जनताको बलिदानले बनिएको संविधानलाई जिवित राख्न अघि बढेको बताए ।

