फिक्कल : इलामको सूर्योदय नगरपालिका वडा नम्बर ६ मा निर्माण भैरहेको कन्याम फाजिगाँउ सिचाई योजनाको अनुगमन गरिएको छ । स्वीस सरकारको आर्थिक सहयोगमा संचालन भइरहेको साना सिंचाइ कार्यक्रम अन्तर्गतको सिचाई आयोजनाको सूर्योदय नगरपालिकाका जनप्रतिनिधि, साना सिचाईका प्रतिनिधि र स्थानीय उपभोक्ता समितिका प्रतिनिधिले मंगलबार अनुगमन गरेको हुन ।
स्थानीय माछा मारे खोलाको मुहानबाट पानी संकलन गरी स्थानीय किसानलाई सिचाई सुविधा पु¥याउने लक्ष्य साथ निर्माण अन्तिम चरणमा पुगेको योजना अनुगमनमा सूर्योदय नगरपालिकाकी उप प्रमुख दुर्गादेबी भट्टराई, वडा नम्बर ३ का वडाध्यक्ष होम कार्की, वडा नम्बर १२ का वडाध्यक्ष टेकबहादुर राई, साना सिंचाई कार्यक्रमका कलष्टर संयोजक केशब लामा, कन्याम फाजिगाँउ सिंचाई जल उपभोक्ता संस्थाका अध्यक्ष रोशन पोखरेल लगायतको सहभागीता रहेको थियो ।
अनुगमनका क्रममा उप प्रमुख भट्टराईले योजनाको काम स्टोमेट अनुसार नै भएको बताउदै योजना सम्पन्न भए पछि स्थानीय किसानलाई ठूलो राहत मिल्ने बताइन् । वडा नम्बर ३ का वडाध्यक्ष होम कार्कीले कुलो निर्माण भए पछि सिचाई गर्ने आवश्यक प्राविधिक ज्ञान किसानलाई दिनु पर्ने आवश्यक्ता रहेको बताए । साना सिंचाई कार्यक्रमका कलष्टर संयोजक लामाले जल उपयोग निति अनुसार सबै किसानले सिंचाई सुविधा पाउने जानकारी दिए ।
३० लाख बढी रुपैयाँको लागतमा निर्माणको अन्तिम चरणमा पुगेको योजना संचालनका लागि स्वीस सरकारको साना सिंचाइ कार्यक्रम अन्तर्गत ४० प्रतिशत, संघीय सरकारको ३० प्रतिशत, स्थानीय सरकार नगरपालिकाको २० प्रतिशत र स्थानीय उपभोक्ता जनसहभागिताबाट १० प्रतिशत खर्च हुने छ । १३१२ दशमलब २९ मिटर लम्बाई भएको कुलोबाट १४ दशमलब ६० हेक्टर क्षेत्रफका ४१ घरधुरीले सिंचाई सुविधा पाउनेछन् ।