इलाम । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले राष्ट्रियताको विषयमा खबरदारी गर्नु पत्रकारको प्रमुख दायित्व रहेको बताएका छन् । अध्यक्ष आचार्यले पत्रकारको पहिलो दायित्व राष्ट्रियता, नागरिकको हित र तेस्रो आफ्नो पेशागत हकहित, गणतन्त्रकाे संस्थागत र मिडियाको हित रहेको बताए । सोमबार पत्रकार महासंघ इलाम शाखाको १६ औं साधारण सभाको उद्घाटन सत्रमा बोल्दै आर्चायले लामो संघर्षपछि ल्याएको प्रेस स्वतन्त्रतामाथि कुण्ठित हुन नदिन पत्रकार आफै लाग्नु पर्ने बताए । उनले स्थानीय मिडियालाई स्थानीय सरकारकै श्रोतबाट बलियो बनाउनका लागि केन्द्रले पहल गरिरहेको बताए । आचार्यले स्थानीय विज्ञापन स्थानीय मिडियलाई नै दिएर दरिलो बनाउनुपर्नेमा जोड दिए ।

प्रेसका लागि लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने भएकाले लोकतन्त्र बाहेक अन्य परिस्थितिमा प्रेस नरहने अध्यक्ष आचार्यको भनाइ थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले परिवर्तनका लागि निरन्तर खवरदारी गर्न प्रेसको महत्वपूर्ण भूमिका रहने बताए ।
यस्तै, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पत्रकारिता स्वच्छ,निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिए । उनले प्रेसले गल्ती गरेमा समाजमा दुर्घटना हुने भन्दै सजग र सक्षम भएर पत्रकारिता गर्न सुझाब दिए । दोश्रो विश्वयुद्ध ताका प्रेसले निष्पक्ष सञ्चार सम्प्रेषण नगरिँदा विचार बाझिएको उदाहरण प्रस्तुत गर्दै सत्य तथ्य र निष्पक्ष रुपमा कलम चल्न नसके देश नै दुर्घटनामा पर्ने खतरा रहेको औल्याए ।
कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले अझैपनि पत्रकारले श्रम अनुसारको ज्याला नपाउने गरेको बताए । उनले श्रमजिवी ऐन र सन्तोषजनक सेवा सुविधाको कार्यान्वयको लागि अझै पनि लडाई जारी रहेको बताए । उनले तीनै तहको सरकारले कानुन निर्माणको क्रममा संचार क्षेत्रलाई समेट्न नसकेको बताउँदै अधिक छलफलबाट कानुन निर्माण हुन अपिरहार्य रहेको बताए ।
यस्तै, महासंघका समावेशी उपाध्यक्ष दिलीप थापाले राज्यका महत्वपूर्ण आन्दोलनमा प्रेसको भूमिका मुख्य रहने गरेको अवगत गराए । उनले २०६२÷०६३को जनआन्दोलनमा पनि प्रेसको सहयोग नभएको भए लोकतन्त्र ल्याउन सहज नभएको जिकिर गरे । उनले लोकतन्त्र बलियो हुनका लागि न्यायलय निष्पक्ष हुनुपर्ने बताए । थापाले संविधानमा लेखिएको प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी गोकुल बास्कोटा संचारमन्त्री हुँदा ल्याएका विधेयकमा संसोधन गर्ने भद्र सहमतीपछि आन्दोलनको कार्यक्रम रोकिएको बताए
महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले आवाजविहिनको आवाज वाहिर ल्याउन प्रेस सधै जागिरहने विश्वास व्यक्त गरे । उनले देशभरमा १६ प्रतिशत महिला पत्रकारहरु भएपनि महासंघको नेतृत्वमा भने इलाम मात्र पुगेको बताउँदै इलामबाट शुरु भएको अभियान अन्य जिल्लामा पनि हुनुपर्ने बताए ।
पत्रकार महासंघ प्रेदश १ का अध्यक्ष विक्रम लुइँटेलले पत्रकार सधै विधिको शासनको पक्षमा गरिनुपर्नेमा जोड दिए । कोरोनापछि प्रेसपनि बचाउन गाह्रो भएकाले तीनवटै तहका सरकारकले सहयोग आवश्यक परेको बताए । पाँचथर शाखाका अध्यक्ष लवदेव ढुङ्गानाले १० बर्षे कार्ययोजनाको साथ नेपाल पत्रकार महासंघ अघि बढ्नुपर्ने बताए । उनले १० बर्षसम्म महासंघ भित्र राजनिति नभित्र्याई सर्वसहमतीमा अघि बढ्न सवै एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै गैरसरकारी महासंघ इलामका कोषाध्यक्ष भक्त थामीले २०४७ सालपछि सवै भन्दा तिव्र रुपमा विकास भएको क्षेत्र संचार रहेको बताए । उनले कलमको माध्यमबाट देश विकासमा पत्रकारहरुको भुमिका महत्वपुर्ण रहनुपर्ने बताए । उनले गलत कदमको खबरदारी गर्न पत्रकार चुक्नु नहुने बताए ।
प्रेस संगठन इलामका सहसंयोजक बिमल दहालले एकजुट भएर लाग्न महासंघ इलाम शाखाबाट सहयोग पाएको बताए । उनले पत्रकारहरुको हकहितमा महासंघको भुमिका सकारात्मक देखिएको बताए । प्रेस युनियन इलामका अध्यक्ष बिप्लव भट्टराईले कोरोना कहरका समयमा अपेक्षा अनुसार महासघ नेतृत्वमा पहल हुन नसकेको बताए । उनले पत्रकारहरुको हकहितका लागि केन्द्रिय तहबाट समन्वयको खाँचो देखिएको औल्याए । भट्टराईले पिडित पत्रकाहरुको लागि राहतको प्याकेज ल्याउन नेतृत्वसंग आग्रह गरे । कार्यक्रममा उपाध्यक्ष सुजन तिमसिनाले स्वागत र सचिव ख्याम भुजेलले संचालन गरेका थिए ।
पाँच लाख ९६ हजार बराबरको आयव्यय प्रस्तुत
महासंघको साधारणसभाबाट पाँच लाख ९६ हजार चार सय सात रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरिएको छ । त्यसैगरी क्रियाशील पत्रकार महिलालाई पुरस्कृत गर्ने उद्देश्यले ५० हजार रुपैयाको कोष स्थापना गरिएको छ । हाल इलाम नगरपालिकाबाट २५ हजार रुपैयाँ र शाखाको तर्फबाट २५ हजार रुपैयाँबाट कोष सुरु गरिएको हो । कोषबाट नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा जिल्लामा क्रियाशील एक पत्रकार महिलालाई १० हजार रुपैयाँ राशिको पुरस्कार कोषबाट प्रदान गरिनेछ ।
कोषका लागि महासंघको साधारणसभाको अवसरमा पत्रकार महासंघ इलाम शाखाकी केन्द्रीय पार्षद रीता राराहाङ राईले पाँच हजार पाँच सय ५५ रुपैयाँ घोषणा गरेकी छिन् । कोष वृद्धि, कार्यविधि व्यवस्थापन लगायतका कामका लागि कार्यसमिति सदस्य वुद्धमाया सोङ्मीको संयोजकत्वमा महासंघ जिल्ला शाखा उपाध्यक्ष कौशिला राई र कार्यसमिति सदस्य विनय तिम्सिना सदस्य रहेको उपसमिति गठन गरिएको छ ।