इलाम । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले असंवैधानिक र स्वेच्छाचारी कदमको विरोधका लागि नेपाली कांग्रेस इलामले ८१ वटै वडाको प्रतिनिधि चयन गरेको छ । आगामी माघ ८ गते देशभरका सवै वडामा कांग्रेसले विरोधको कार्यक्रम तय गरेसंगै इलामले ८१ वटै वडामा हुने विरोधसभाको लागि जिल्ला प्रतिनिधिहरुलाई प्रमुख अतिथि चयन गरेको हो ।
प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले नेपालको संविधान २०७२ विपरित संघीय संसद विघटनको विरोधमा कांग्रेसले माघ ८ गते एकै दिन देशभरमा ६ हजार ७ सय ४३ वटा वडामा विरोध कार्यक्रम तय गरेको छ । विरोधसभाका लागि कांग्रेस इलामले माघ १ गते बैठक गरेर वडाका प्रतिनिधिहरुलाई कार्यक्रम सफल बनाउन जिम्मेवारी तोकिदिएको हो ।
जिल्ला सभापती हिमालय कर्मचार्यले सवै वडा कार्य समितिलाई पत्र जारी गर्दै जिल्ला प्रतिनिधिहरु र वडा कार्य समिति बिच आवश्यक समन्वय गरी कार्यक्रम सफल बनाउन आग्रह गरेका छन् ।

