चुलाचुली । इलामको चुलाचुली गाउँपालिका भित्रका दुई वटा सडक प्रदेश नम्बर एक सरकारको सहयोगमा कालोपत्रेको काम शुरु भएका छन् । क्रमागत योजनाका रुपमा कालोपत्रे हुँदै सडक कालोपत्रेका लागि प्रदेश एक सरकार र चुलाचुली गाउँपालिकाको साझेदारीमा भइरहेका हुन् । झापाको कमल गाउँपालिकादेखि चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय भवन जोड्ने र हिमाली मार्गमा सडक कालोपत्रेको धमाधम हुँदै आएको छ । गाउँ सभाले पालिका भित्रका सडक कालोपत्रे गर्दै लाने निति लिएपछि प्रदेश नम्बर एक सरकारबाट प्राप्त बजेटमा गाउँपालिकाले थप गरि सडक कालोपत्रे हुँदै आएका छन् ।

प्रदेश नम्बर एक सरकारको समपुरक कोष र गाउँपालिकाको लगानीमा आर्थिक वर्ष २०७५÷०७६ देखि नै पालिका भित्रका सडक कालोपत्रे हुँदै आएका हुन् । कमल गाउँपालिकादेखि चुलाचुली गाउँपालिकाको प्रशासकीय भवन जोड्ने २ हजार ८ सय मिटर सडक मध्ये गत आर्थिक वर्षमा एक हजार पाँच सय मिटर कालोपत्रे गरिएको थियो । वडा नम्बर ४ मा पर्ने सडकको चालु आर्थिक वर्षमा आठ सय मिटर कालोपत्रे गर्ने काम शुरु भएको छ ।

सो सडकको बाँकी ५ सय मिटर कालोपत्रेका लागि श्रोतको व्यवस्थापन गर्ने काम भइरहेको प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताए । चुलाचुली गाउँपालिका २ स्थित हिमाली मार्गको पनि प्रदेश एक सरकारबाट प्राप्त बजेटमा गाउँपालिकाले थप गरि कालोपत्रे भइरहेको छ ।

हिमाली मार्गको एक हजार ४ सय मिटर सडक एक करोड ३७ लाख ७३ हजारमा कालोपत्रे भएको थियो । सो मार्गमा चालु आर्थिक वर्षमा आठ सय मिटर सडक कालोपत्रे गर्ने काम शुरु भएको छ । सडक कालोपत्रे गर्न प्रदेश सरकारको ६० प्रतिशत र चुलाचुली गाउँपालिकाको ४० प्रतिशत बजेट बिनियोजन भएको प्रदेश सासंद धिरेन्द्र सर्माको भनाइ छ ।
