माई । इलामको माई नगरपालिका ४ मा रहेको साना किसान महिला कृषि सहकारी संस्था लिमिटेडको दशौं साधारणसभा आज सम्पन्न भएको छ । प्रदेश नम्बर १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथी रानाले कृषिमा आधुनिकीकरण गर्न महिला मात्रैले सञ्चालन गरेको सहकारी झन् संक्षम रहने दावी गरे । एक हजार १ सय ७८ जना महिला शेयर सदस्य रहेको सहकारीको साधारणसभामा प्रदेश साँसद कागते, जिल्ला समन्वय समितिका प्रमुख बराल, इलामका मेयर महेश बस्नेत, माईका मेयर थेबे, उपमेयर आचार्यलगायतको सहभागिता रहेकोले थियो ।
संस्थाको करिब ११ करोड शेयर पूँजी रहेको छ । सहकारीले विभिन्न क्षेत्रमा काम गर्ने समुहका सदस्यहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा उत्कृष्ठ किसानहरु प्रेमकुमारी श्रेष्ठ, माया भेट्वाल र रामकुमारी सिंह, उत्कृष्ठ ऋणी डम्बरकुमारी श्रेष्ठ, उत्कृष्ठ समुह, समुह नम्बर १५, उत्कृष्ठ संचालक जसोदा पौड्याल र उत्कृष्ठ कर्मचारी सृजना खवास रहेका छन् ।
साधारणसभामा निम्न आय भएका सदस्यहरुलाई ब्लांकेट सहयोग गरिएको थियो भने चार बर्ष कार्यकाल पुरा गरेका सञ्चालक समितिलाई मायाको चिनो प्रदान गरिएको थियो । संस्थाका ब्यबस्थापक इन्द्रबहादुर रैका मगरको सञ्चालन तथा अध्यक्ष कल्पना थापाको अध्यक्षतामा कार्यक्रम भएको कर्मचारी सिर्जना खवासले जानकारी दिइन् । साधारणसभाले वार्षिक प्रगति प्रतिवेदन पारित गरेको छ ।


