काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने अडान लिएका छन्। बुधबार दिउँसो बालुवाटारमा भेट्न पुगेका अध्यक्ष दाहालसँगको सम्वादका क्रममा ओलीले अन्य चारजना सदस्यको समर्थनमा प्रचण्डले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन फिर्ता नलिएसम्म स्थायी कमिटी बैठकमा उपस्थित हुन नसक्ने बताएका हुन्।
प्रचण्डले २८ कात्तिकको सचिवालय बैठकमा पेस गरेको १९ पृष्ठ लामो प्रतिवेदन केन्द्रीय नेतादेखि कार्यकर्तासम्म वितरण गरिसकेका छन्। ओलीले पनि प्रचण्डलाई जवाफ दिँदै ३८ पृष्ठ लामो प्रस्ताव सचिवालयमा पेश गरेका थिए। ओलीले प्रचण्डको राजनीतिक प्रस्तावलाई ‘अभियोगपत्र’ संज्ञा दिँदै त्यो कुनै पनि हालतमा फिर्ता हुनुपर्ने अडान लिएका हुन्। पार्टी महासचिव विष्णु पौडेलसहित भएको दुई नेताको संवादमा ओलीको अडानले स्थायी कमिटी बैठक नै अनिश्चित बनेको छ।
प्रचण्ड बुधबार बिहान स्थायी कमिटी बैठकका कार्यसूचीमा छलफल गर्न बालुवाटार पुगेका थिए। बालुवाटार स्रोतका अनुसार प्रचण्डको प्रस्ताव दस्तावेज नभइ ‘अभियोगपत्र’ मात्रै भएकाले कुनै हालतमा फिर्ता हुनुपर्ने पक्षमा ओली अडिग छन्। प्रचण्डको प्रस्ताव फिर्ता हुनै पर्ने पक्षमा रहेका ओली यसअघि मंसिर २१ मा बसेको स्थायी कमिटी बैठकमा सहभागी भएनन्। उनले दुई पृष्ठ लामो पत्र लेख्दै प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नआउने बताएका थिए।
तर मंसिर २८ मा बालुवाटारमै बसेको बैठकमा भने उनी उपस्थित थिए। काभ्रे निवासी नेकपा नेता तथा संविधानसभा सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्ने एउटा मात्रै एजेण्डा भएको उक्त बैठकमा ओली सहभागी भएका थिए। तर त्यो बैठक शोक प्रस्ताव पारित गर्दै केही मिनेट बसेर सकिएको थियो।
प्रचण्डको प्रस्तावले दुईजनाबीच चर्काचर्की परिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका छन्। जसलाई प्रचण्डले लोकतन्त्रको उपहास भन्दै तुरुन्त खारेज गर्न भनेका थिए। तर ओलीले उक्त अध्यादेश ल्याएपछि संवैधानिक परिषद्को बैठक डाकेर विभिन्न निकायमा १५ जनालाई नियुक्ति सिफारिस गरेको बताइएको छ। यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
ओलीले बैठकमा नआउने अडान राखेपछि स्थायी कमिटी सदस्यहरु बालुवाटार परिसरमै कुरेर बसिरहेका छन्। यसैबीच पहिलो भेटमा ओली बैठकमा आउन तयार नभएपछि प्रचण्डले फेरि उनीसँग छलफल गरिरहेका छन्।