फिक्कल । पुर्व प्रधानमन्त्री एवम इलाम क्षेत्र नं १ का सांसद झलनाथ खनाल आफ्नो निर्वाचन क्षेत्रमा पर्ने ३ स्थानीय तहमा बन्ने अस्पतालको शिलान्यास गर्न गृह जिल्ला आउँदैछन् । खनाल आज इलाम आइपुगेर भोली सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने १५ बेडको अस्पताल शिलान्यस गर्ने कार्यक्रम तय भएको स्वकिय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
अस्पताल नभएको ६ सय ४९ स्थानीय तहमा स्वास्थ्य कर्मी सहितको अस्पताल बनाउने स्वास्थ्य मन्त्रालयले तयारी गरेको थियो । सोही अनुरुप इलामका ३ स्थानीय तहमा अस्पतालको काम अघि बढेको हो । माई नगरपालिकाको सितली, सूर्योदयको फिक्कल र सन्दकपुरको देउरालीमा अस्पताल बन्नेछन् । सरकारले प्रत्येक स्थानीय तहमा निर्माण गर्ने भनेको ५ देखि १५ शैयाको अस्पताल निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय गरेपछि अस्पताल शिलान्यसको काम अघि बढाइएको हो ।
अस्पतालको नाममा जग्गा नभएमा, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत् भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय सरकारले गरेको थियो । जसका लागि सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७१ संशोधन गरिएको थियो ।
दफा १२ को उपदफा (३) लाई संशोधन गर्दै ‘स्थानीय तह अन्तर्गत स्थापना हुने ५ देखि १५ शैयाको आधारभूत अस्पतालका लागि आवश्यक पर्ने जग्गा अस्पतालका नाममा नभएमा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले त्यस्ता अस्पतालको भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय गर्न सक्नेछ’ भन्ने प्रतिवन्धात्मक वाक्यांश कार्यनीतिमा थप गरिएको छ ।