चुलाचुली । चुलाचुली गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल र कुमाले खोलामा निर्माण हुन लागेको पक्की पुलको १ नम्वर प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री राम रानाले शिलान्यास गर्ने भएका छन् । प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पाताल निर्माण गर्ने नेपाल सरकारको निर्णय अनुसार आगामी मंसीर १५ गते विहान ११ बजे चुलाचुली गाउँपालिका वडा नम्वर–२स्थित बागोठेमा निर्माण हुन लागेको अस्पतालको मन्त्री रानाले शिलान्यास गर्ने कार्यक्रम रहेको चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले जानकारी दिए ।
त्यसैगरी मन्त्री रानाले वडा नम्वर १ र २को सीमानामा पर्ने कुमाले खोलामा निर्माण हुन लागेको पक्की पुलको समेत शिलान्यास गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले बताए । निर्माण हुन लागेको अस्पतालको लागत १८ करोड ६ लाख रुपैयाँ रहेको छ भने पुलको निर्माण लागत ३ करोड ३१ लाख ८३ हजार ९२२ रुपैया रहेको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले जानकारी दिए ।
गाउँपालिकाका ठूला तथा निर्माण शुरु गरिएका योजना
गाउँपालिकाले चालू आर्थिक वर्षमा शुरु गरेका योजनामध्ये हिमाली मार्ग हँुदै तीनकुने पोखरीसम्म जाने १ करोड रुपैयाँको लागतमा ८ सय मिटरको कालोपत्रे सडक सम्पूर्ण प्रक्रिया पूरा गरी क्रमागत योजनामा निर्माण शुरु गर्ने तयारीमा रहेको छ ।
त्यसैगरी गाउँपालिकाको प्रशासनिक भवनदेखि सिम्लेसम्म जाने १ करोड रुपैयाँको लागतमा ८ सय मिटर सडकको समेत सम्पूर्ण प्रकृया पूरा भएको अधिकृत राईले बताए । त्यसैगरी गाउँपालिकाको प्रशासनिक भवनको दोश्रो तलाको निर्माणका लागि १ करोड ७१ लाख रुपैयाँमा निर्माण शुरु गरिने छ भने वडा नम्वर १, ३, ४ र५ को वडा कार्यालय भवन निर्माणस्थलको ८० लाख रुपैयाँको लागतमा घेरावार गर्ने कार्य शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।