Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

आज फाल्गुनन्द जयन्ती, यस्तो छ उनको योगदान

आज फाल्गुनन्द जयन्ती, यस्तो छ उनको योगदान

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक २५ २०७७


आज फाल्गुनन्द जयन्ती, यस्तो छ उनको योगदान

इलाम । किराँत धर्मगुरु तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज मनाइँदैछ । उनका अनुयायीहरुले विशेष पर्वका आजको दिनलाई पर्वको रुपमा मनाउने गरेका छन् । जन्मजयन्तीका अवसरमा लिम्बू समुदायको बसोबास रहेका पूर्वी नेपालको इलाम सहित देश विदेशमा समेत धार्मिक तथा साँस्कृतिक कार्यक्रम हुँदैछन् ।

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्म भएको दिन कात्तिक २५ गतेलाई हरेक वर्ष विशेष पर्वका रुपमा मनाउने गरिन्छ । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लामा धार्मिक अनुष्ठान, पूजापाठलगायतका कार्यक्रम आयोजना गरी उनको जन्मजयन्ती मनाइँदैछ । विसं २०७२ मा फाल्गुनन्द जन्मजयन्तीको अवसरमा किराँत धर्मावलम्बीहरूका लागि सरकारले सार्वजनिक पनि बिदा दिन थालेको छ । फाल्गुनन्द किराँत समुदायका धर्मगुरु भए पनि पूर्वी नेपालमा बसोबास गर्ने सबै समुदायले उनलाई समान श्रद्धा र आस्था राख्छन् ।

उनले किराँत धर्म, दर्शन र संस्कृतिको पुनःजागरणका क्रममा कुम्भकर्ण हिमशृङ्खलालाई किराँत धर्मावलम्बीको तीर्थभूमि र मुक्तिभूमिका रुपमा पहिचान गराएका थिए । उनले तयार पार्नुभएको सत्यधर्म मुचुल्का आज पनि उत्तिकै सान्दर्भिक छ । विक्रम संवत १९८८ मा लिम्बू समुदायका परम्पराभित्रका कुसंस्कारलाई परिवर्तन गर्न उनले तत्कालीन १० लिम्बूवान क्षेत्रका शासक, विद्वान् र धार्मिक–सामाजिक अगुवालाई भेला गराएर सत्यधर्म मुचुल्का तयार पारेका थिए ।

सत्यधर्म मुचुल्कामा छोरीचेलीको विवाह गर्दा सोत–रीत अर्थात पैसा लिन नहुने, भगवानको पूजा गर्दा प्राणीको हत्या गर्न नहुने, मद्यपान र मासु सेवन कम गर्दै लैजाने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक, सांस्कृतिक पक्ष समेटिएका छन् । त्यसअघि किराँत समुदायमा छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो । मुचुल्का तयार भएपछि छोरीलाई विवाहमा मोल नै तोकेर सोत रीत लिने चलन अन्त्य भएको किराँत समुदायका अगुवा बताउँछन् ।

लिंगका आधारमा हुने विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नु पर्नेमा मुचुल्काले जोड दिएको छ । मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई भगवानका सन्तानका रुपमा व्याखा गर्ने प्रयास गरेको छ । यस्तै मुचुल्काले शाकाहारी जीवन पद्धतिमा जोड दिएको छ । यस्तै जाँडरक्सीले सामाजिक र आर्थिक रुपमा नकारात्मक असर पार्ने भएकाले यसको सेवन गर्न नहुने कुरा मुचुल्कामा समावेश छ ।

प्रदेश एकमा सार्वजनिक विदा
आज १३६ औँ फाल्गुनन्द दिवसको अवसरमा प्रदेश १ मा सार्वजनिक बिदा दिइएको छ । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज फाल्गुनन्द दिवसको दिन प्रदेश भरी बिदा दिने निर्णय अगाडीका वर्षहरूमा नै भएको जानकारी दिएको छ । सार्वजनिक विदाबारे राजपत्र र प्रदेश क्यालेन्डरमा समेत उल्लेख गरिएको छ । यसपटक कोरोना महामारीको कारण फल्गुनन्द जन्मजयन्ती सामुहिकरुपमा भने मनाईएन । किरात धर्म तथा सहित्य उत्थान संघ र किरात याक्थुङ चुम्लुङ लगायतका संघसंस्थाहरुले सिमित कार्यक्रम गरी जन्म दिवस मनाउदैछन् ।
अभियानकर्मीदेखि राष्ट्रिय विभूतिसम्म
सत्य, शान्ति र अहिंसाका दूत एवं अभियानकर्मी महागुरु फाल्गुनन्दको जन्म वि।सं १९४२ कात्तिक २५ गते इलामको इभाङ गाविस वडा नं ५ चुक्चिनाम्बामा भएको थियो । किराँत धर्म, संस्कृति र कर्मकाण्डको सुधार गर्ने कार्यमा अहोरात्र खट्ने क्रममा उनको २००५ साल चैत २२ गते पाँचथरको इम्बुङमा देहवसान भएको थियो ।

इलाममा जन्म भए पनि पाँचथरलाई कर्मथलो बनाएका महागुरुको तपोभूमि लब्रेकुटी र समाधिस्थल सिलौटी पाँचथरको फिदिम नगरपालिकामा पर्छन् । फाल्गुनन्दले दिएको योगदानको सम्मानस्वरुप नेपाल सरकारले उनलाई २०६६ साल मङ्सिर १६ गते १६ औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्दको नाममा हुलाक टिकट पनि प्रकाशित छ ।

किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दले किराँत समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनु पर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रितको नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गर्नुपर्ने, सिरिजङ्गा लिपी प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधारको अभियान चलाएका थिए ।

इलामको माङ्सेबुङमा धर्मगुरु आत्मानन्दले स्थापना गरेका माङ्हिम अहिले किराँत धार्मिक स्थलको रूपमा प्रसिद्ध छ भने पाँचथरको लेब्रेकुटी, सिलौटीलगायतका स्थानमा पनि फाल्गुनन्दकै नामबाट धार्मिक पर्यटन बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार