झापा । झापामा ३ जनासहित आज विभिन्न जिल्लामा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। झापामा मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक–एकजना पुरुष छन्। दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो।
हिजो उपचारका लागि नोबेल पुर्याइएका ती व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो। यस्तै कमल गाउँपालिका–५ मंगलबारेका ७२ वर्षीय वृद्धको घरमै आज बिहान मृत्यु भएको छ। मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा संक्रमण पुष्टि भएको थियो।
केही दिनयता उनी होम आइसोलेसनमा बसेका थिए। यसैगरी गौरादह–४ मिलन चोकका ७४ वर्षीय पुरुषको पनि गए राति घरैमा मृत्यु भएको छ। कात्तिक १३ गते संक्रमण पुष्टि भएको उनी होम आइसोलेसनमा थिए । हिजो पनि झापामा तीन जनाको मृत्यु भएको थियो। योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।