Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मौलिकता तथा पहिचानको संरक्षणको लागि लिम्बु जातीले यूमा धर्म लेखौ : जगत योङ्हाङ्ग लिम्बु

मौलिकता तथा पहिचानको संरक्षणको लागि लिम्बु जातीले यूमा धर्म लेखौ : जगत योङ्हाङ्ग लिम्बु

  • लिला सुब्बा
  • सोमबार, असोज १२ २०७७


मौलिकता तथा पहिचानको संरक्षणको लागि लिम्बु जातीले यूमा धर्म लेखौ : जगत योङ्हाङ्ग लिम्बु

आगामी बर्ष देशमा १२ औ जनगणना हुँदैछ । नेपालको संविधान २०७२ घाेषणा पछिकाे यो नै पहिलो जनगणना हो । संविधानको प्रस्तावनामा नै नेपाल बहुजाति, बहुभाषी, बहुधर्मी र बहुसंस्कृति भएको मुलुक हो भनेर लेखिएको छ । संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेपछि अब आउने जनगणनाको लागि जातीयताको मुद्धाले विशेष बहस पाएको छ । सामाजिक संजालमा जात र धर्मको बारेमा अनेकौ टिक्काटिप्पणी सुरु भएको देखिन्छ । विशेष गरेर जनजातीको सबालमा अहिले गरमागरम बहसको बिषय बनेको छ । लिम्बु समुदायले आफ्नै धम महलमा किरात भन्ने वा यूमा यसमै अन्योल रहेको अवस्थामा यूमा साम्योका अभियन्ता जगत योङ्हाङ्ग लिम्बुसंग लोकल सन्देशका लागि सहकर्मी लिला सुब्बाले गरेको सम्वाद :
अहिले लिम्बुहरू धर्मको महला किराँत वा यूमा लेख्ने सन्दर्भमा अन्योलमा छन् अब आउने २०७८ सालको जनगणनामा यस बिषयमा प्रष्ट पारिदिनु हून्छ कि ?
धन्यवाद पत्रकार मित्र लिला सुब्बा ज्यू..। म तपाईको यो पहिलो प्रश्नको बारेमा के भन्न चाहान्छु भने आगामी बर्ष २०७८ सालमा सम्पन्न हुने १२ औं राष्ट्रिय जनगणनामा हाम्रो लिम्बू समुदायमा किरात धर्म लेख्ने कि यूमा धर्म कुन धर्म लेख्ने भनेर निश्चय नै अन्यौलमा छन् । यो सत्य कुरा नै हो तथापि अहिलेको बर्तमान अवस्थामा हाम्रो देश संबिधानतः धर्मनिरपेक्ष मुलुक भनेर संबिधानको भाग १, धारा ४ मा ब्यबस्था छ । त्यसैले लिम्बू समुदायमा हामी लिम्बू जातिले मन परेको वा इच्छा लागेको जुनसुकै धर्म लेख्ने तथा मान्ने स्वतन्त्रता छ । तर पनि यसै धारामा धर्मनिरपेक्ष भनेको सनातनदेखि (प्राचीनकालदेखि) चलिआएका धर्म संस्कृतिको संरक्षण तथा सम्वर्दन गर्नु पनि धर्मनिरपेक्ष हो भनेर स्पष्टिकरण गरिएको हुँदा अब लिम्बू जातिले मान्ने प्राचीन धर्म के हो त ? भन्ने सवाल उत्पन्न भएकोले लिम्बू जातिका विद्धवान बुद्धिजिविहरूको अन्तराष्ट्रिय सम्मेलनको निर्णयबाट प्राचीन यूमा धर्म संस्थागत गर्ने काम भएको हो ।

यसलाई राज्यले पनि मान्यता दिईसकेको छ । त्यसै कारण अबको जनगणनामा लिम्बू समुदायले के धर्म लेख्ने भन्ने बारेमा आम सनातनवादी तथा मौलिकवादी लिम्बूहरूले यूमा धर्म नै लेख्नु पर्ने म सल्लाह दिन्छु किनभने लिम्बू जाति भनेका आत्मावादी, प्रकृति तथा पितृ पूजक हुन् जुन धार्मिक संस्कार लिम्बू जातिले सभ्यताको सुरूआतकाल दशौ, बाह्रौं हजार बर्षदेखि नै अवलम्बन गर्दै आएका हुन् । यो परम्परागत प्रचलन याक्थुङ मौलिकता तथा पहिचानको संरक्षणको लागि पनि लिम्बू जातिले धर्मको महलमा यूमा धर्म लेख्न जरूरी छ । यूमा धर्म लेख्ने थुप्रै ऐतिहासिक तथा मुन्धुमी आधार तथा प्रमाणहरू छन् । यिनीहरूलाई यहाँ बर्णन गरेर साध्य छैन । किरात धर्म किन नलेख्ने भन्दा किनभने किरात पहिचान होइन यसले बहुअर्थ पनि दिन्छ । त्यस्तो बहुअर्थ लाग्ने शब्द पहिचान हुन् सक्दैन । पहिले धर्म राज्य वा राजनीति भन्दामाथी हुन्थ्यो अहिले यो धर्म भन्ने बिषय पहिचानमा मात्र सिमित छ ।

एक त राज्यले चिन्ने भन्ने धर्म लारूम्बाको किरात धर्म नै हो । लारूम्बाले २०३७ सालमा नै किरात धर्म तथा साहित्य उत्थान संघ भनेर राज्यमा धार्मिक संस्था दर्ता गरिसकेको हो । यो नै आधिकारिक किरात धर्म हो । अर्को किरात धर्म छैन । यो धर्मसँग परम्परावादी लिम्बूको कुनै पनि धर्मिक प्रचलन मिल्दैन जस्तै संस्कार, संस्कृति, कर्म काण्ड तथा धार्मिक दर्शन समेत पनि मिल्दैन र यसरी धर्ममा हुनुपर्ने सारतत्वहरू फरक भएपछि एउटै धर्म हुने कुरा नै भएन । भैसी र गाई जस्तो भयो । नाम मिल्दैमा मात्र धर्म हुँदैन । कर्म काण्ड, संस्कार, संस्कृति तथा धार्मिक दर्शन पनि एक हुनुपर्छ वा मिल्नु पर्छ । अतः उल्लेखिक कारणहरूको आधारमा परम्परावादी लिम्बूहरूले यूमा धर्म नै लेख्ने सल्लाह दिन्छु ।

लिम्बु (याक्थुङ्) हरू अहिले किराँत र युमा धर्मका जिम्मेवार ब्यक्तिहरू नै लागिपरेको अवस्था छ धर्मको महलमा कोहि किराँत लेख्नु पर्छ भन्छन् कोहि यूमा भनेर अब तपाई ४÷५ लाख याक्थुङहरुलाई धर्मको बारेमा कसरी प्रष्ट पारिदिनुहुन्छ ?
दोस्रो प्रश्नको हकमा म के भन्छु भने, हो हाल लिम्बू समुदायमा किरात धर्म लेख्ने र यूमा धर्म लेख्ने भनेर लिम्बू समुदायकै जिम्मेवार तथा प्रबुद्ध ब्याक्तिहरू लागि परेको कुरा यथार्थ हो । यसमा लिम्बू समुदायकै जातीय संस्थाका नेतृत्व तहका र राजनैतिककर्मीहरू समेत छन् । र म धर्म बारे के भन्न चाहान्छु भने नास्तिकता वा अनिश्वरवादी पनि एक प्रकारको धर्म नै हो । बुद्धपनि अनिश्वरवादी नै थिए । त्यसैले मानव जीवनमा कही न कतै धर्म संस्कृतिले प्रभाव पारेको हुन्छ । मानव जीवन धर्म संस्कृतिबाट अछुतो रहन सक्दैन भन्दा फरक नहोला । धर्मलाई संस्कार संस्कृतिले पनि प्रभावित गर्छ र संस्कार संस्कृतिलाई धर्मले पनि प्रभाव पार्छ । मानिसलाई जन्मदेखि मृत्यू पर्यन्तसम्म धर्मले प्रभाव पार्छ । यो कुराको उदाहरणको लागि हाम्रै जातिलाई पनि लिन सकिन्छ । जस्तै बच्चा जन्मिन्छ न्वारन गर्नु प¥यो , ठुलो हुन्छ मांगेना गर्नु प¥र्योे, बयस्क हुन्छ बिहे गर्नु प¥र्यो , नाहाङमा गर्नु प¥र्योे, तङसिङ गर्नु प¥र्यो , मृत्यू हुन्छ मृत्यू संस्कारहरू गर्नु प¥र्योे । यी सबैमा बिभिन्न कर्मकाण्डहरू गर्नुपर्छ, धार्मिक पुजारी फेदाङमा साम्बा र येबार येमाहरू चाहिन्छ ।

संसारमा धेरै प्रकारका धर्महरू छन् जस्तैः उदाहरणको लागि आत्मावाद,प्रकृति तथा पितृ पुकारवादी धर्म, बहुईश्वरवादी धर्म, एक ईश्वरवादी धर्म, अनिश्वरवादी धर्म तथा जातीय धर्म छन् । लिम्बू जातिले मान्ने यूमा धर्म पनि जातीय धर्म नै हो । यस्ता जातीय धर्महरू संसारमा धेरै अस्तित्वमा छन् जस्तैः यहुदी जातिको धर्म जुडाइजम् सिर्फ यहुदी जातिले मात्र मान्छ । फारसी वा पर्सियन जातिको धर्म जुराष्टन, सिख जातिको धर्म सिख धर्म यो नेपालमा पनि अस्तित्वमा छ । खस जातिको धर्म मुष्टो धर्म यो हिन्दुले खाईदियो यो अहिले ब्युतिने क्रममा छ । संसारको ठुलो धर्म भनेर चिनिने इसाई इस्लाम धर्म जस्तै ठुलो जातीय धर्म भनेर चिनिया धर्म पनि छ । यसरी नेपालमा हिन्दु धर्म दर्शनको आधारमा मात्र धर्मको ब्याख्या विश्लेषण गर्ने परिपाटिले गर्दा लिम्बू जातिको धर्मको अपब्याख्या हुँदै छ । धर्म ठुलो बनाउने होडमा किरात भनिएको हो र किरात भन्दा र सबैले किरात धर्म नै लेख्दा पनि कुनै हालतमा ठुलो धर्म हुँदैन । किरात जातिमै सिमित रहने हो अन्य ठुलो धर्मलाई उछिनेर ठुलो धर्म हुने होइन ।

कसैले ठुलो धर्म भन्ने पनि होइन । धर्म भन्ने कुरो पहिचान र मौलिकतामा सिमित भएपछि ठुलो र सानो, धेरै र थोरै भन्ने प्रसँग नै किन ? एउटा भए पनि पहिचान नै हो र धेरै भए पनि पहिचान नै हो । यसरी हालमा आएर लिम्बू जातिले मान्ने धर्म बुझ्दा हुन्छ । हुन त हिन्दु धर्म दर्शनलाई आधार मानेर धर्मको बिभिन्न ब्याख्या बिश्लेषण र परिभाषित गरिएको छ तर खासमा मानव शास्त्रीहरूको परिभाषा अनुसार धर्म भनेको अलौकिक वा अदृष्य शक्ति माथिको आस्था वा बिश्वास नै धर्म हो भनेर परिभाषित गरेको पाइन्छ । यथार्थ धर्मको अर्थ वा परिभाषा छोटकरीमा यही नै हो भन्छु ।

लिम्बुहरू अहिलेको समसामयिक मा धर्मकै बिषय लिएर वाक युद्ध चलाइरहेका छन् जिम्मेवार किराँत धर्म र युमा धर्मका ब्यक्तिहरूको कारण दुइ बिपरीत ध्रुबमा बाडिएको अवस्था छ,अव रोक्न के गर्नु पर्ला ?
यो वाक युद्ध भन्दा पनि अहिले आम लिम्बू समुदायमा गणतन्त्र धर्मनिरपेक्ष मुलुक घोषणा पश्चात आएको लिम्बू समुदायमा मौलिकता तथा धार्मिक साँस्कृतिक जागरण भन्नु चाहि म रूचाउछु । किनभने यो फेसबुकको मौलिकतावादी र मौलिकता नरूचाउनेको जुहारी खेलाइले लिम्बू समुदायमा धेरै नै धार्मिक सांस्कृतिक जागरण वा क्रान्ती नै आएको अनुभुत गरेको छु । यो सामाजिक संजालमा लिम्बू समुदायमा राजनीति भन्दा धर्मकैबारेमा धेरै बहस चल्छ र बहसले जहिले पनि सत्य कुरा वा सकारात्मक पक्ष नै अंगाल्छ । गलतलाई इन्कार गर्छ ।

अर्को यस्तो जागरणलाई रोक्ने कुरा नै हुन् सक्दैन । यो जागरण भनेको मानिसको दिमाग वा चेतनाको उपजको कुरा हो भने कसरी रोक्ने । यस्तो जागरण वा क्रान्तीहरू विश्वमा कसले रोकेको इतिहास छ ? जस्तै चिनको साँस्कृतिक क्रान्ती, रूसको बोल्सेविक मेनसेविक क्रान्ती युरोप अमेरिका र भारतबर्षको क्रान्तीहरू ।

किराँत धर्म र युमा धर्म बीच आरोपप्रत्यारोप मै लागि परियो भने अबको दिनमा सिङ्गो लिम्बूहरूलाई कसरी एक हून्छन् त ?
संबिधानतः नेपाल देश बहुजाति, बहुभाषी, बहुधर्मी र बहुसंस्कृति भएको मुलुक हो भनेर वर्तमान संबिधानको प्रस्तावनामा नै किटानीका साथ उल्लेख भएको छ । त्यस मानेमा लिम्बू समुदायमा यूमा धर्म संस्थागत हुँदैमा लिम्बू जातिमा फुट भयो भन्नु गलत हो । किनभने अनेकता वा बिबिधतामा पनि एकता हुन्छ भन्ने मुल्य मान्यतालाई बुझ्नु पर्यो । यो पनि गणतन्त्र नेपालको एउटा सुन्दर पक्ष हो । हुनको लागि त लिम्बू समुदायमा धार्मिक रूपले बिभाजन भएको शाहबंशीले यो याक्थुङ लाजे (लिम्बूवान) लाई कब्जा गरेदेखि नै हो । लिम्बूलाई नीति र सामृति मान्ने भनेर धार्मिक रूपले बिभाजन गरेको हो ।

फाल्गुनन्दको जोसमुनि सत्तेहाङमा धार्मिक मत पनि शाहबंशी राजाहरूको फुटाउ र शासन गर भन्ने धार्मिक रणनीति कै उपज हो । जुनकुरा जसमुनि सन्तहरूको इतिहासले पुष्टि गरिसकेको बिषय हो तर यो कुराको बारेमा प्रष्टता अझै पनि लिम्बू समुदायमा छैन । फेरी धर्म भन्ने कुरा फुटि सकेपछि फेरी जुट्न सक्दैन । किनभने धर्म संस्कार संस्कृतिसँग सम्बन्धित हुन्छ भनेर माथी नै भनिसकिएको छ । धर्ममा फुट भएपछि फुटेको हाँडी जस्तै हो । फुटेको हाँडी मर्दा पनि जोडिँदैन र धर्म संस्कृति पनि त्यस्तै हो । बरू राजनीति पार्टीहरू फुट्न पनि सक्छ र जुट्न पनि सक्छ भने धर्म संस्कृतिमा त्यस्तो अवस्था सम्भव हुँदैन । धार्मिक सम्प्रदायमा एकता त धार्मिक सहिष्णुताले गर्छ । यसले एक अर्को सम्प्रदायमा मेलमिलाप ल्याउछ वा गराउछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार