फिक्कल । कोरोनाको कहरको समयमा बढ्दो रगत अभावलाई परिपुर्ती गर्नका लागि इलामको सूर्योदय नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाइटी फिक्कल उपशाखाको आयोजना र रक्त संचार शाखा विर्तामोडको प्राविधिक सहयोगमा फिक्कल बजारमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कोरोना कहरका कारण पछिल्लो समय रगतको माग बढेपछि रक्तदान गरिएको उपशाखाका सभापती सुजन नेपालले बताए । पुर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङका बिरामीहरुको उपचारको लागि झापा जानुपर्ने भएका कारण दैनिक रुपमा ठुलो मात्रामा रगत माग हुने भएपनि कोरोना कारणले नियमित रक्तदानका कार्यक्रम स्थगन हुँदा विभिन्न सङ्घसंस्थाले आकस्मिक कार्यक्रम गर्दै आएका छन् ।
बिहिबार ८१ जना पुरुष र १६ जना महिलाले रक्तदान गरेका थिए । फिक्कल शाखाले यसअघि आवश्यकता अनुसार विभिन्न समयमा रक्तदानको कार्यक्रम आयोजना गर्दै आएको थियो । कार्यक्रमलाई सूर्योदय नगर प्रमुख रणबहादुर राईले ब्लड ब्याग हस्तान्तरण गर्दै उद्धघाटन गरेका थिए । स्थानीयबासी, प्रहरी, संचारकर्मी, उद्योगी, व्यवसायीले सक्रिय रुपमा सहभागिता जनाएको उपशाखाका उपसचिव टिका घिमिरेले जानकारी दिए ।



