Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

सीमा क्षेत्रमा शसस्त्रको सीमा सुरक्षा पोष्ट स्थापनाले स्थानीयमा खुशियाली

सीमा क्षेत्रमा शसस्त्रको सीमा सुरक्षा पोष्ट स्थापनाले स्थानीयमा खुशियाली

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र १६ २०७७


सीमा क्षेत्रमा शसस्त्रको सीमा सुरक्षा पोष्ट स्थापनाले स्थानीयमा खुशियाली

फिक्कल । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण र सीमानाको सुरक्षाका लागि इलामका २ स्थानमा शसस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना गरिएको छ । इलामको नेपाल भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटरमा ७ वटा सीमा सुरक्षा पोष्ट स्थापना गर्ने निति अनुसार सुरक्षा पोष्ट स्थापना पछि स्थानीयमा खुसियाली छाएको छ ।  शसस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना पछि रोङ गाउँपालिका ६ का कुमार मोक्तानले आफु सुरक्षित भएको अनुभुति सुनाए ।

‘सीमा सुरक्षासँगै चोरी निकासी नियन्त्रण हुँदा लागि हामी जनताले धेरै सुरक्षाको अनुभुति पाएका छौ–उनले भने–‘ खुल्ला सीमाको उपयोग गरि अपराधिक समुहले पहिलेको दिनमा जुन रुपले त्रसित हुनुपर्ने अवस्थाबाट हामी मुक्त हुनेछौँ ।’ नेपाली पक्षबाट प्रशासनको उपस्थिति नहुँदा मेची नदिको दोहन रोकिने र प्राकृतिक श्रोतको तस्करी रोकिने स्थानीयको आश रहेको छ । रोङ गाउँपालिकाको ६ स्थित सलकपुरमा शसस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट आइतबार स्थापना गरिएको थियो ।

इलामको नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा पोष्ट स्थापना गर्ने निति अनुरुप सोमबार सुर्योदय नगरपालिका ५ स्थित समाल्बुङ्गमा पनि सीमा सुरक्षा पोष्ट स्थापना गरिएको छ । सीमा क्षेत्रमा सुरक्षा पोष्ट थपिएपछि इलामको सीमा क्षेत्रमा नेपाली प्रशासनको उपस्थित बढ्दै गएको छ । भारतसँग सीमा जोडिएको सलकपुर क्षेत्रमा चोरी तस्करी र आपराधिक घटनाबाट त्रसित भएका जनता शसस्त्र प्रहरीको उपस्थितिसँगै खुसि भएको वडाध्यक्ष एवम गाउँपालिका प्रवक्ता सुबास तामाङले बताए ।

शसस्त्र प्रहरीको स्थायी रुपमा सीमा सुरक्षा पोष्ट राखिएपछि जनप्रनिधिसँगै सबै जनताले सुरक्षा अनुभुति पाएका छन्–अध्यक्ष तामाङले भने–‘अपराधिक गतिविधिसँगै मेची नदि दोहन रोक्न जनता र जनप्रनिधि लाग्नुपर्ने अवस्थामा राज्यको ठुलो शक्ति स्थायी रुपमा बसेपछि हामी सुरक्षित भएका छौँ ।’  सरकारले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि र सीमाना सुरक्षाका लागि सीमा सुरक्षा पोष्ट राख्ने निर्णयपछि इलाममा २ वटा सीमा सुरक्षा पोष्ट थपिएका हुन् । इलामको रोङ गाउँपालिको सलकपुर र सूर्योदय नगरपालिकाको समाल्बुङमा एक दिनको फरकमा इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई र शसस्त्र प्रहरी बल एक नम्बर बराहा बाहिनीका बाहिनीपति बंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सुरक्षा पोष्ट राखिएसँगै शान्ति सुरक्षामा सदृढ हुने सूर्योदय नगरपालिका ५ का अध्यक्ष प्रेम तामाङले बताए । ‘भारतले सीमा क्षेत्रमा तीन किलोमिटरको फरकमा सीमा सुरक्षा पोष्ट राखेको अवस्थामा हामीले पहिलेदेखि नेपाली प्रशासनलाई सुरक्षा पोष्ट राख्न माग गरेका थियौ ।’–वडाध्यक्ष तामाङले भने–‘कहिलेकाहि हतियार सहित भारतीय सीमा सुरक्षा पोष्टका सुरक्षाकर्मी हतियार सहित आउँदा त्रसित हुने अवस्था थियो अब हाम्रो तर्फबाट पनि शसस्त्र प्रहरी हुँदा त्रसित हुनुपर्ने अवस्था हटेको छ ।

शसस्त्र प्रहरीको २ वटा पोष्ट थपिएसँगै इलामको सीमा क्षेत्रमा ३ वटा सीमा सुरक्षा पोष्ट भएका छन् । सूर्योदय नगरपालिकाको पशुपतिनगरमा एक वर्ष अगाडि सीमा सुरक्षा पोष्ट स्थापना गरिएको थियो । नेपाल भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटरमा ७ वटा सीमा सुरक्षा पोष्ट स्थापना गर्ने निती अनुसार बिओपि स्थापनाको काम गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले बताए । सीमा क्षेत्र जिल्लाको सदरमुकामबाट टाढा रहेको सीमा क्षेत्रमा अपराधिक घटना हुँदा जनतानै त्रसित भएकाले जनताको सुरक्षासँगै सीमाना रक्षाका लागि शसस्त्र प्रहरीको पोष्ट स्थापनालाई प्राथमिकता दिएको सेडाईको भनाइ छ ।

३ स्थानमा शसस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना भइसकेको र बाँकी ४ स्थानमा पनि चाँडै सुरक्षा पोष्ट राख्ने तयारी भइरहेको उनले बताए ।  सिमित साधन श्रोत भएपनि सरकारको निर्णय अनुसार सबै स्थानमा सुरक्षा पोष्ट स्थापना गर्ने शसस्त्र प्रहरी बल नेपाल प्रदेश १ बराहा बाहिनिका बाहिनिपति बंशीराज दाहालले बताए । सरकारले प्राथमिकताका साथ सीमा सुरक्षा पोष्ट स्थापना गर्ने निर्णय गरेकाले प्रदेश एकका सबै जिल्लामा बिओपि थप्ने काम अभियानका रुपमा शुरु भएको दाहालले बताए । शसस्त्र प्रहरीको कार्यक्षेत्र सीमा सुरक्षासँगै अन्य क्षेत्र पनि भएकाले जनता र शसस्त्र प्रहरी एक भएर समाजसँगै देशको हितका लागि लाग्नका लागि हाम्रो संगठन तयार छ–उनले भने–‘ भौतिक संरचना कमजोर भएपनि राज्यको श्रोत अनुसार स्थायी संरचना निर्माणको काम पनि थालिने गरिनेछ ।’

सीमा सुरक्षा पोष्ट स्थापनाको अवसरमा पोष्टको स्थायी संरचना निर्माणका लागि जग्गा दान गर्ने जग्गादातालाई सम्मान गरिएको थियो । भाडामा र पुराना सरकारी संरचनामा स्थापित बिओपिको स्थायी संरचना निर्माणको काम चाँडै शुरु हुने शसस्त्र प्रहरी बल नेपाल नम्बर १ गण हेड क्वाटर श्रीअन्तु इलामका गणपति सुधिरजंग थापाले बताए । ‘स्थायी संरचना निर्माणका लागि टेन्डर प्रक्रिया भइसकेको छ ।’ गणपति थापाले भने–‘इलामको जौबारी, सलकपुर र समाल्बुङको बिओपिको स्थायी संरचना निर्माणको काम चालु आर्थिक वर्षमै सकिनेछ ।’

सरकारले इलामको पशुपतिनगर, छब्बिसे, समाल्बुङ, सकलकपुर, कालपोखरी, जौबारी र मानेभञ्ज्याङ्गमा सीमा सुरक्षा पोष्ट राख्ने निर्णय गरेको थियो । सरकारी निर्णय अनुसार सीमा क्षेत्रमा बिओपि राख्ने अस्थायी रुपमा बस्ने स्थान र स्थायी संरचना निर्माणका लागि जग्गा प्राप्तिको काम भइरहेको शसस्त्र प्रहरी बल पशुपतिनगर बिओपिका प्रमुख नविन खतिवडाले बताए । खतिवडाका अनुसार मानेभञ्ज्याङ्ग र जौबारीको स्थायी संरचना निर्माणका लागि जग्गा प्राप्ति भइसकेको छ । उनले भने–पशुपतिनगर, कालपोखरी र छब्बिसेको जग्गा प्राप्तिका लागि खोजी भइरहेको छ ।

सीमा क्षेत्रमा बिओपि स्थापना पनि प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई, शसस्त्र प्रहरी बल नेपाल प्रदेश १ बराहा बाहिनिका बाहिनिपति बंसिराज दाहाल, शसस्त्र प्रहरी बल नेपाल नम्बर १ गण हेड क्वाटर श्रीअन्तु इलामका गणपति सुधिरजंग थापा, शसस्त्र प्रहरी निरिक्षक नविन खतिवडा, चिरञ्जिवि प्रसाई, सुजन कटुवाल लगायतको टोलीले रोङ गाउँपालिका अध्यक्ष र सूर्योदय नगरपालिका प्रमुख रणबहादूर राईसँग सीमा सुरक्षा र अपराध नियन्त्रणबारे छलफल गरेको थियो ।

भेटका क्रममा सूर्योदय नगरपालिका प्रमुख रणबहादूर राईले शसस्त्र प्रहरी बललाई आवश्यक पर्ने सूर्योदय नगरपालिकाले गर्ने बताए । प्रमुख राई भने– ‘सीमा क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी रुपमा बिओपि स्थापनाले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सहयोग पुग्नेछ ।’ त्यस्तै रोङ गाउँपालिकाका अध्यक्ष समसेर राईले कोरोना रोग नियन्त्रणमा शसस्त्र प्रहरी बलले पाल मुनी बसेर पनि काम गरेकाले गाउँपालिकाले आगामी दिनमा सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार