विभिन्न सामाजिक गतिविधिहरू गर्दै आइरहेको मेची अभियानलाई थप एक लाख सहयोग प्राप्त भएको छ । हङ्कङ नेप्लिज मोबाइल फोटोग्राफीद्वारा शिवसताक्षी नगरपालिकामा बाढी पिडित बनेकी एकल महिला तारा शेर्माको घर निर्माणका लागि सो रकम मेची अभियानलाई प्रदान गरेको हो । आइतबार एक कार्यक्रमकाबीच हङ्कङ नेप्लिजको तर्फबाट संचारकर्मी भूमिका सुब्बा फियाकले अभियानका संयोजक विजय डालमियालाई १ लाखको चेक हस्तान्तरण गरेकी हुन् ।
हङ्कङ नेप्लिज मोबाइल फोटोग्राफी एक फेसबुकको समूह हो । जहाँ देश तथा बिदेशमा रहेका विभिन्न व्यक्तिहरुलाई मोबाईल फोटोग्राफी मार्फत एक ठाउँमा जोड्ने उदेश्यले खोलिएको समूह हो । त्यहि समुहमा संचारकर्मी सुब्बाले शेर्माको घरसँग सम्बन्धित फोटो पोस्ट गरेपछि यो समूह सहयोगको लागि अभियानसँग जोडिएको हो । बिदेशी भूमिमा रहेर पनि आफ्नो देशको यो बिपत्तिमा आफ्नो समुहको तर्फबाट सहयोग गर्न पाउँदा आफु अन्त्यन्तै खुसि भएको समुहका एड्मिन मध्येका एक अनिल कुमार गुरूङ बताउँछन् ।
गत असार १२ गते कनकाई नदीको बाढीले घर बगाएपछि अढाई वर्षको एक छोरा, ५ र ७ वर्षका दुई छोरीलाई लिएर शिवसताक्षी–१० की तारा शेर्मा रेडक्रसले दिएको त्रिपालमा खोला किनारमा असुरक्षितरूपमा बस्दै आएकी छन् । एक बर्ष अघि श्रीमान गुमाएकी ताराको बारेमा समाचार सञ्चारमाध्यममा आएपछि मेची अभियानको उनको लागि पक्कि घर बनाइदिने भएको हो । त्यसको लागि शिवसताक्षी नगरपालिकाले शेर्माको स्थायी पुर्नस्थापनाका लागि जनता आवास कार्यक्रम क्षेत्रमा जग्गा दिने निणर्य गरेपछि शेर्माको घरबन्ने भएको छ ।
अहिले घरको शिलान्यास समेत भएको छ । घर निर्माणको कार्य सुरु भइसकेको बताउँदै यो अभियानमा सहयोग गर्ने हङ्कङ नेप्लिज मोबाइल फोटोग्राफीलाई संयोजक डालमियाले धन्यबाद दिए । तिहार अगाडी शेर्मालाई घर भित्राउने उदेश्य रहेको र यस् अभियानलाई साथ र सहयोग पुर्याउन पनि उनले सम्पूर्णलाई आग्रह गरेका छन् ।
कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्य, वरिष्ठ प्रशासकीय अधिकृत अनन्त वस्ती, नेपाल पत्रकार महासंघ झापाका महासचिब सन्तोष आचार्य, पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने, प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल , पत्रकार राधा खनाल, ज्ञानेन्द्र निरौला, जन संसद दैनिकका अध्यक्ष केशव राज पाण्डे लगायत अन्य पत्रकारहरुको उपस्थिति थियो ।